काठमाडौं—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडिजीपी डा. तुला कृष्ण गुप्ताले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेका छन् । ८—९ नोभेम्बरमा भएको जनरल प्रायक्टिसनर तथा फ्यामिली मेडिसिनको अन्तर्राष्ट्रिय सम्मेलनमा डा. गुप्ताले हिमाली क्षेत्रमा हुने छाला रोगबारे गरेको रिसर्च सर्वोत्कृष्ट भएपछि उनले उक्त एवार्ड हात पारेका हुन् ।
क्यानडाको बेस रोउर सेन्टर फर ग्लोबल मेडिसिनको आयोजनामा भएको वर्ल्डवाइड कन्फ्रेरेन्समा प्रस्तुत गरिएका सयौं अनुसन्धानहरुमध्येमा डा. गुप्ताको अनुसन्धान पहिलो भएको हो । अनुसन्धान पहिलो भएसँगै उनले ‘डा. प्याट्रिक चेगे मेमोरियल रिसर्च एवार्ड—२०२३’ हात पारेका हुन् ।
‘उच्च हिमाली भेगका छाला रोगको प्रकार र जिपीले त्यसमा खेल्न सक्ने भूमिकामाथिको मेरो अनुसन्धान पहिलो भयो,’ उनले भने, ‘यसबाट औधी खुसी लागेको छ ।’ सप्तरीका डा. गुप्ताको एवार्ड पहिलो भएसँगै उनी सन् २०२४ मा क्यानाडामै गएर उक्त रिसर्च ओरल प्रिजेन्टेसन दिन पाउनेछन् ।
४ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहेका उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडिजीपी परेका हुन् । डा. गुप्ताले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट ग्लोबल हेल्थ र ग्लोबल मेन्टल हेल्थ दुई विषयमा फेलोसीप गरेका छन् ।
कर्णालीमा जनरल प्रायाक्टिस एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख रहेका बेलायतको युनिभर्सिटी अफ लन्डनबाट ग्लोबल एमबीए—हेल्थ गर्दैछन् ।