२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने 

कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने 


काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।

विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए । अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले आज काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोङ्गबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिए । उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । “कोरोनाका कारण सावित्रीको दुःखद निधन भएपछि मैले घोषणा गरेको थिएँ, उनको ९ दिनको बच्चा सफलको पढाइमा लाग्ने सम्पूर्ण खर्च म आफै व्यहोर्छु, अहिले उनको भर्ना गर्न पाउँदा म ज्यादै खुशी छु, कक्षा १२ सम्म पढाएर जागिरको व्यवस्थासमेत मैले गर्नेछु,”– मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए। उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत स्मरण गरे ।

विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षा क्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिए । प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरोसमेत पहिलेदेखि नै आफ्नो विद्यार्थी भएकाले कोरोनामा दुःखद निधन भएसँगै जेठो छोराको पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गरे ।

वि.सं २०५७ सालमा स्थापना भएको कान्तिपुर इङ्लिस एकेडेमीमा हाल ५५० विद्यार्थी अध्ययनरत छन् । मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतीको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गरेकोमा आभार व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ