२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा

बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा

जसले एमबीबीएसको इन्ट्रान्समा २२ औं नम्बर नाम निकालेकी छन् ।


२५ कात्तिकमा चिकित्सा शिक्षा आयोगले बीएस्सी नर्सिङ/बीएस्सी मिडवाइफ्रीतर्फको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्‍यो । परीक्षामा खुलातर्फ ३०५३ जना विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरे । त्यसबाहेक अन्य विभिन्न कोटामा पनि विद्यार्थीहरुले बीएस्सी नर्सिङ/बीएस्सी मिडवाइफ्रीको इन्ट्रान्समा नाम निकालेका छन् । ती सबैमा सर्वोत्कृष्ठ भइन्—काडाघारीकी श्रद्धा बस्नेत । उनले २०० पूर्णांकमा १७१.२५ अंक ल्याएर बीएस्सी नर्सिङतर्फको इन्ट्रान्स टप गरेकी हुन् ।

बीएस्सी नर्सिङतर्फको इन्ट्रान्सकी टपर श्रद्धाले २३ कात्तिकमा प्रकाशित एमबीबीएसको इन्ट्रान्समा पनि २२ नम्बरमा निकालेकी छन् । एमबीबीएसमा ६ हजार ८ सय ३२ जनाले उत्कृष्ट विद्यार्थीले नाम निकालेका थिए । जसमध्ये श्रद्धा १६६ अंकका साथ २२ औं स्थानमा नाम निकाल्न सफल भइन् ।

एकै असफलताबाट भाग्ने र निराश हुनेहरुका लागि श्रद्धा गतिलो प्रेरणा हुन् । पहिलो दुई पटकको प्रयासमा सफल हुन नसकेपछि श्रद्धाका लागि यस पटक एमबीबीएस र बीएस्सी नर्सिङतर्फका दुवै नतिजा जीवन शिक्षा बने । ‘निरन्तरताले सफलताको मिठो फल दिँदोरहेछ,’ २१ वर्षीया श्रद्धाले भनिन् ‘हार कहिल्यैं मान्नु हुँदैन् ।’ यो नतिजाले उनलाई खुसी बनाएको छ ।

श्रद्धा वि.सं. २०५९ सालमा काठमाडौंमा जन्मिएकी हुन् । पुख्र्यौली घर रामेछाप भएकी श्रद्धाका बुवा दीपकबहादुर बस्नेत र आमा शान्तिकुमारी बस्नेत दुवैजना व्यापारमा संलग्न छन् । बस्नेत दम्पत्तीले दुवै सन्तानलाई घरमै उत्कृष्ट पढ्ने वातावरण मिलाइदिएका छन् । त्यही कारण सानैदेखि श्रद्धा र उनका भाइको अधिकांश समय पढाइमै बितेको हो ।

‘मेरो बाल्यकाल ठमेलमा बितेको हो,’ उनी भन्छिन्, ‘अधिकांश समय पढ्ने, त्यसबाहेक छिमेकका साथीभाइहरुसँग खेल्ने, स्कुल जाउने आउने गर्दै बाल्यकाल बित्यो ।’ उनले कक्षा ५ सम्मको पढाइ ठमेलकै प्रज्ञा हायर सेकेण्डरी बोर्डिङ स्कुलबाट पूरा गरिन् ।

त्यसपछि श्रद्धाको परिवार काडाघारीमा बसाइँ सर्‍यो । त्यही कारण उनले ६ देखिमाथिको शिक्षा आर्जन भने गेटवे एकेडेमीबाट गरेकी हुन् । भनिन्छ, ‘हुने विरुवाको चिल्लो पात’ यो भनाइ श्रद्धाको जीवनमा पनि लागु हुन्छ । आर्ट र क्राफ्टमा रुचि भएकी उनको अधिकांश समय पढाइमै बित्थ्यो । ‘स्कुलमा साथीहरु पनि धेरै थिएनन्,’ उनी भन्छिन्, ‘अधिकांश समय पढाइमै र त्यसबाहेक केही समय टिभी हेरेर बिताउँथे ।’ स्कुलमा उनी क्वीज, स्पीच कम्पीटिसनमा पनि सहभागी भइरहेकी हुन्थिन् । स्कुल जीवनमा उनलाई विज्ञान सबैभन्दा मनपर्ने विषय थियो ।

स्कुलमा गरेको त्यही मेहनत उनको एसएलसीको नतिजाले पनि प्रमाणित गर्छ । वि.सं. २०७५ सालमा श्रद्धाले ३.९० जीपीएका ल्याएर एसएलसी उत्तीर्ण गरिन् । सानैदेखि डाक्टर बन्ने सपना बनाएकी उनी त्यसपछि विज्ञान पढ्न नयाँ बानेश्वरस्थित लिभरपुल इन्टरनेशनल कलेजमा भर्ना भइन् । लिभरपुलबाट उनले वि.सं. २०७७ सालमा प्लस टु को अध्ययन पूरा गरिन् ।

त्यसपछि एमबीबीएस इन्ट्रान्स तयारी गर्न थालिन् । ‘सुरुमा मलाई एमबीबीएसको तयारी कसरी गर्नुपर्छ भन्ने पनि थाहा थिएन्,’ उनले सुनाइन्, ‘व्यक्तिगत तवरमै पढेर तयारी गरे ।’ उनले एमबीबीएसका तयारी कक्षा र तयारीबारे धेरै पछि थाहा पाइन् । त्यही कारण पहिलो पटक इन्ट्रान्स दिन उनको तयारी पुगेन् । दोस्रो प्रयासमा पनि एक्जाममा आत्तिएपछि उनको नतिजामा राम्रो आएन् ।

तर, उनले हार खाइनन् । थप मेहनत गरिन् । पढाइमा विशेष रुपमा ध्यान दिइन् । इन्स्टिच्युट गएर तयारी कक्षाहरु लिइन् । त्यसपछिको नतिजा सबैका अगाडि छ—बीएस्सी नर्सिङतर्फ इन्ट्रान्स नै टप गरिन् भने एमबीबीएसमा २२ औं नम्बरमा नाम निकालेर डाक्टर बन्ने आफ्नो सपना पूरा गर्ने बाटो तयार पारिन् ।

श्रद्धा अब महाराजगन्ज मेडिकल क्याम्पसमा आफ्नो डाक्टरी पढाइको यात्रा सुरु गर्ने बताउँछिन् । ‘महाराजगन्ज मेडिकल क्याम्पसमै एमबीबीएस पढ्छु,’ उनले भनिन्, ‘मैले बीएस्सी नर्सिङलाई ब्याकअपका रुपमा राखेकी थिइन् । एमबीबीएसमै नाम निस्केपछि अब एमबीबीएस नै पढ्छु ।’ उनले एमबीबीएसपछिको पढाइबारे अहिले नै आफूले नसोचेको बताइन् ।

‘हजारौं कुरा पढ्नुपर्छ, त्यसबाट २०० मात्रै प्रश्न आउने हो,’ श्रद्धा भन्छिन्, ‘पढाइमा निरन्तरता एकदमैं आवश्यक छ । अभ्यास गरिरहनुपर्छ । एकदिनमात्रै १२—१३ घण्टा पढ्ने होइन् हरेक दिन पढ्नुपर्छ ।’ एमबीबीएसको तयारीमा रहँदा कोर्स बुकहरु निरन्तर पढ्ने, सन्तुलित रुपमा तयारी गर्ने, नडराउने, मानसिक रुपमा फिट रहनेजस्ता कुराहरुमा विशेष ख्याल गर्नुपर्ने सुझाव उनको छ । हामीले कुराकानीको बिट मार्नुपूर्व श्रद्धालाई सोध्यौ ‘यो टप गर्ने फर्मुला के हो ?’ उनले हाँस्दै उत्तर फर्काइन्, ‘निरन्तरको मेहनत नै टप गर्ने फर्मुला हो ।’

श्रद्धाले एमबीबीएस इन्ट्रान्सको तयारी गरिरहेका हजारौं विद्यार्थीलाई हार नमानेर अगाडि बढ्न सुझाव दिइन् । ‘हार नमान्नुहोस्, एक्जाम मात्रै जिन्दगी होइन् । राम्रोसँग तयारी गर्नुहोस्,’ उनले भनिन्, ‘हार मान्नु सबैभन्दा सजिलो कुरा हो । गाह्रो कुरा त हार नमान्नु हो । त्यसैले निन्तर प्रयास गर्नुहोस् ।’ उनले धेरै कुरा कक्षा ११ र १२ कै कोर्स बुकबाट आउने भएकाले इन्ट्रान्सलाई ठूलो पहाडका रुपमा नलिनसमेत आग्रह गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ