काठमाडौं– मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइतेको उपचारका लागि विदेशबाट चिकित्सकको टोली आउने भएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले विदेशका विभिन्न मुलुकबाट चिकित्सकको टोली आउन लागेको अस्पतालका प्लास्टिक सर्जरी डिपार्टमेन्ट प्रमुख डा.किरण नकर्मीले हेल्थ आवाजलाई बताए ।
डा. नकर्मीका अनुसार उनीहरूको उपचारका लागि केही दिन भित्रमै अमेरिका, क्यानडा, मेक्सिको लगायतबाट चिकित्सकको टोली आउने भएका हुन् । उनले भने–‘कुन देशबाट कति भन्ने ठ्याक्कै यकिन गरिएको छैन । तर विभिन्न देशबाट आठ÷दश जना विशेषज्ञ हप्ता हप्तामा आलोपालो गर्दै आउने कुरा भइरहेको छ ।’
गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा २७ जना मानिसहरू घाइते भएका थिए । ती मध्ये २६ जनालाई उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको थियो । अस्पतालमा हाल ८ जना आइसियुमा उपचाररत रहेको डा. नकर्मीले बताए । उनीहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई आइसियुमा राखी उपचार भइरहेको उनले बताए ।
त्यस्तै १८ जना घाइतेलाई वार्डमा राखिएको छ । उनले भने ‘आगोमा जलेका बिरामी सबैको अवस्था गम्भीर नै हुन्छ । अहिले आइसियुमा भने आठ जना हुनुहुन्छ । वहाँहरूको अवस्था अन्यको भन्दा बढी गम्भीर छ । अरू सबै वार्डमा राखेर उपचार भइरहेको छ ।’