काठमाडौं-जाजरकोटमा गएराति गएको भूकम्पमा घाइते भएकाहरुको उपचारका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलकाअनुसार घाइतेहरुको उपचारका लागि बाँके प्रशासनले शनिबार राति ३ः२१ बजेबाट नै तयारी थालेको छ ।
भेरी अस्पताल, सैनिक अस्पताल, प्रहरी अस्पतालको १०५ वटा शैय्या तयारी अवस्थामा राखिएको छ । ‘पर्याप्त मात्रामा डाक्टर, स्टाफ नर्स र लजिष्टिकको प्रबन्ध मिलाइएको छ,’ पोखरेलले भने ।
उनकाअनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ भने अन्य निजी अस्पतालहरुलाई पनि तयार रहन भनिएको छ ।
हेलिकप्टरमा आउने बिरामीहरुका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा २ २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको र रगतको व्यवस्थापनमा पर्याप्त मात्रामा गरिएको पोखरेलले जानकारी दिए ।
शुक्रबार राति ११ः४७ मा जाजरकोटमा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परी अहिलेसम्म जाजकोटमा ९२ जना र रुकुमपश्चिममा ३६ जना गरी १२८ जनाको मृत्यु भएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ । सयौं संख्यामा मानिसहरु घाइते भएका छन् ।