२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

नागरिकको स्वास्थ्यको हकप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

आम्दाको नर्सिङ कलेजको उद्घाटन, ३०० शैय्याको अस्पताल बनाउने उद्देश्यका साथ नयाँ भवनको शिलान्यास


बुटवल—प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमा सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । बिहीबार आम्दा अस्पताल अगाडि बढाउन लागेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको नर्सिङ कलेजको उद्घाटन कार्यक्रममा बोल्दैं दाहालले आफ्नो नेतृत्वको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

‘वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील छ,’ उनले भने, ‘मेरो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निशुल्क उपलब्ध गराइएको छ ।’

प्रधानमन्त्री दाहालले पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको उल्लेख गर्दै सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको बताए । ‘यस्ता धेरै कामहरू अगाडि बढेका छन्,’ उनले भने, ‘जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।’

प्रधानमन्त्रीले नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउँदैं यो निकै ठूलो मेहेनत र संघर्षको प्रतिफल भएको उल्लेख गरे। दाहालले उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था रहेको बताउँदैं संविधानको उक्त व्यवस्थाअनुरूप आम्दालगायतका निजी स्वास्थ्य संस्थाहरूले पनि सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे ।

आम्दा नेपालअन्तर्गत स्थापित सिद्धार्थ बाल तथा महिला अस्पतालले सञ्चालन गरेको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान जापानका मानवसेवामा समर्पित प्रतिष्ठित डाक्टर सिगेरू सुगानामीसहितका व्यक्तिहरूको योगदानमा स्थापित भएको हो । सन् १९८४ मा ‘एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया’का रुपमा स्थापित यो अस्पताल तथा कलेजले आमा र बालबालिकाहरूको स्वास्थ्यमा पुर्‍याएको योगदान पनि प्रधानमन्त्री दाहालले प्रशंशा गरे ।

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान कलेजले नर्सिङ्ग, फार्मेसी र एच.ए. विषयको अध्यापन सेवा सुरू गरेको छ । ५० शैय्याबाट सुरु भएको अस्पताल अहिले १०० शैय्या संचालनमा रहेको छ । अस्पतालमा पुनः तीन सय श्ययाको सुविधा सम्पन्न अस्पताल बनाउनका नयाँ भवनको पनि बिहीबार नै शिलान्यास गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ