काठमाडौं—चीन भ्रमणमा क्रममा अस्वस्थ भएर अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । शुक्रबार विहान उनलाई आईसीयुबाट जनरल वार्डमा सारिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
बिहीबार मुटु सम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएपछि उनी पेकिङ युनियन मेडिकल कलेज अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए । डाइग्नोसिसका क्रममा उनमा ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ भएको पत्ता लागेको थियो ।
‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ (मुटुको मासु अक्सिजन नपुगेर मर्न थालिसकेको अवस्था) हो । यो हर्ट अट्याककै अवस्था हो,’ कार्डियोभास्कुलर सर्जन डा. सन्जीतकुमार शाह भन्छन् ।
पेकिङ अस्पतालको क्याथ ल्याबमा उनको कोरनरी एन्जीयोग्राम गर्दा उनको लेफ्ट कोरनरी आर्टरीको अगाडिको शाखामा एकदमै नराम्रो ब्लकेज पाइएको थियो ।ब्लकेज भएको बायाँ धमनीमा बिहीबारै चिकित्सकहरुले स्टेन राखेका थिए ।
त्यसपछि उनलाई अस्पतालको आईसीयुमा चिकित्सकहरुको निगरानीमा राखिएको थियो ।