२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश अस्पताल सुर्खेतमा ३० वर्षीया सुत्केरीको मृत्यु

प्रदेश अस्पताल सुर्खेतमा ३० वर्षीया सुत्केरीको मृत्यु


जुम्ला—प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरेकोे २४ घण्टा नबित्दै एक सुत्केरीको मृत्यु भएको छ । वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षीया जानकी रेग्मी अधिकारीको शल्यक्रिया भएको २४ घण्टा नबित्दै अस्पतालमै ज्यान गएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकी नियमित डाक्टरको निगरानीमा थिइन् । तर, शल्यक्रिया पश्चात जनरल वार्डमा सारिएको २४ घण्टापछि उनको ज्यान गएको मृतक जानकीका ससुरा नाता पर्ने तिलकराम अधिकारीले बताए ।

प्रदेश अस्पताललाई पछिल्लो समय प्रदेशकै सुविधासम्पन्न अस्पतालका रुपमा लिने गरिन्छ । तर, सामान्य अवस्थामा शल्यक्रियामार्फत सुत्केरी गराइएकी जानकीको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरवाही भएको पीडित परिवारको आरोप छ ।

‘सुविधासम्पन्न मानिएको यस अस्पतालमा सुत्केरीको मृत्यु हुनपुग्यो,’ मृतकका सुसुरा अधिकारीले भने, ‘सकुसल बच्चा जन्मिएपछि सुत्केरीलाई प्रसुति वार्डमा सारियो । तर, २४ घण्टामा आफन्तलाई मृत्युको खबर आउदाँ हामी आश्चर्यमा छौं ।’

मृतक जानकीको घर अस्पतालबाट एक सय मिटर दूरी टाढा छ । यतिबेला मृतकका घर परिवारसँगै छिमेक पनि शोकमा छन् । परिवारले अस्पतालको लापरवाहीले जानकीको मुत्यु भएको दावी गर्दै मृत्युको कारण खोजिरहेका छन् । तर, अस्पतालले भने मृत्युको कारण अँझै खुलाएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकीको शल्यक्रिया पश्चात प्रसुति वार्डमा सारेर उपचार भइरहेको अवस्थामा एक्कासी श्वास फेर्न गाह्रो भएपछि सघन कक्षमा राखी उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए । जानकीको पोष्टमार्टम पश्चात मात्रै मृत्युको कारण खुल्ने सूचना अधिकारी बस्नेतको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ