२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमएले भन्यो—‘न्युट्रासिटीकल्स बिरामीलाई सिफारिस गर्ने चिकित्सकको अधिकार हो’

एनएमएले भन्यो—‘न्युट्रासिटीकल्स बिरामीलाई सिफारिस गर्ने चिकित्सकको अधिकार हो’

विज्ञ भन्छन्, ‘न्युट्रासिटीकल्सको गुणस्तर र सुरक्षित प्रमाणित छैन’


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले न्युट्रासिटीकल्स, फुड सप्लीमेन्ट र डाइट्री सप्लीमेन्ट (पूरक आहार) बिरामीलाई प्रेस्क्राइब गर्नु पाउनुपर्ने जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनएमएले अन्तर्राष्ट्रिय मान्यताअनुसार पूरक आहार चिकित्सकले सिफारिस गर्दै आएको उल्लेख गरेको छ ।

१९ भदौंमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधी व्यवस्था विभागमा दर्ता नभएका न्युट्रासिटीकल्स र फुड सप्लीमेन्ट प्रतिष्ठानमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीलाई प्रेस्क्राइब गर्न रोक लगाएको थियो । प्रतिष्ठानले न्युट्रासिटीकल्स र फुड सप्लीमेन्ट प्रेस्क्राइब गर्दा बिरामीको स्वास्थ्यमा जटिलता भएमा प्रेस्क्राइब गर्ने व्यक्ति नै जिम्मेवारी हुने चेतावनी दिएको थियो ।

प्रतिष्ठानको उक्त निर्णयलाई काउन्टर दिन नेपाल चिकित्सक संघको नेतृत्वले विज्ञप्ती नै निकालेर आधिकारिक धारणा सार्वजनिक गरेको हो । एनएमएको विज्ञप्तीमा भनिएको छ, ‘विभिन्न संचार माध्यमहरुमा सर्वसाधारणलाई नागरिकलाई भ्रम पर्ने गरी फुड सप्लीमेन्ट, न्युट्रासिटीकल्स र डाइट सप्लीमेन्टहरुलाई प्रतिबन्धित औषधी भनी चिकित्सकहरुबाट सिफारिस गर्न नहुनेजस्ता अत्यन्तै भ्रामक समाचार र सूचना सम्प्रेषण गरिएकामा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघले स्वास्थ्य उपचारका क्रममा बिरामीलाई आवश्यकताअनुसार औषधी तथा पूरक आहार सिफारिस गर्ने अधिकार चिकित्सकहरुमा निहित रहेको समेत दावी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले औषधी व्यवस्थामा विभागमा दर्ता भएका औषधी मात्रै सिफारिस गर्न भनेर मातहतका कर्मचारीलाई दिएको निर्देशनलाई चुनौती दिदैं संघले खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले स्वीकृती प्रदान गरेका पूरक आहार बिरामीको रोग, उमेर र आवश्यकताअनुसार सहयोगी हुने हुँदा चिकित्सकले अन्तर्राष्ट्रिय मान्यताअनुसार सिफारिस गर्दै आइरहेको दावी गरेको हो ।

अझ रमाइलो कुरा त के भने विज्ञप्तीमा ऐन, कानुन विपरित कुनै पनि संघसंस्थाको नाममा पूरक आहार सिफारिस नगर्नु भनी निर्देशन दिने अधिकार नभएको उल्लेख गरेको छ । अझ हाँसो उठ्दो पक्ष त के भने संघले राप्तीको उक्त कार्यलाई गैरकानुनी भन्दै चिकित्सकलाई भ्रममा नपर्न भनेको छ ।

चिकित्सकहरुलाई नियमन गर्ने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला चिकित्सकहरुलाई बिरामीको भलाइका आधार निर्णय गर्ने अधिकार भएको र बिरामीको हितमा चिकित्सकले काम गर्नुपर्ने बताउँछन् । ‘चिकित्सकले बिरामीको भलाइलाई हेरेर निर्णय गर्ने अधिकार रहन्छ,’ डा. कोइराला भन्छन्, ‘मेडिकल काउन्सिलको इथिक्समा वैज्ञानिक प्रमाण र तथ्य आधारित रहेर उपचार गर्नुपर्ने उल्लेख छ । यसभित्र रहेका अन्य कुराहरुलाई भने छुट्टै अध्ययन गर्नुपर्छ ।’

नेपाल फार्मेसी काउन्सिलका पूर्व अध्यक्ष तथा औषधी विज्ञ बाबुराम हुमागाई न्युट्रासिटीकल्सको गुणस्तर र सुरक्षित प्रमाणित नभएको बताउँछन् । ‘न्युट्रासिटीकल्सको गुणस्तर र सुरक्षितता प्रमाणितसमेत नभएको अवस्था र न्युट्रासिटीकल्सका नाममा आउने पदार्थहरु औषधीको रुपमा उपलब्ध हुने र त्यस्ता न्युट्रासिटीकल्सहरुभन्दा औषधीहरु कयौं गुणा सस्तो भएको हुँदा न्युट्रासिटीकल्सलाई प्रवद्र्धन गर्नु उचित होइन्,’ उनी भन्छन्, ‘यसले आम नागरिकको स्वास्थ्यमा कुनै फाइदा गर्दैन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ