२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिशोरीलाई एचपीभी खोप दिन सुरु, स्वास्थ्यमन्त्री बस्नेतले गरे उद्घाटन

किशोरीलाई एचपीभी खोप दिन सुरु, स्वास्थ्यमन्त्री बस्नेतले गरे उद्घाटन


काठमाडौं—सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)’ विरुद्धको खोप दिन सुरु गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसुति गृहबाट एचपीभी खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपीभी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको बताए । ७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनिका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउँदै हाललाई २० हजार भाइल खोप आइपुगेकाले त्यसबाटै अभियान सुरुवात गरिएको उनले बताए ।

‘सबै किशोरीका लागि पुग्ने गरी खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)सँग कुरा भइरहेको छ । एक वर्षभित्र सबैका लागि एचपीभी खोप आइसक्ने छ,’ उनले भने । पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान गुमाइरहेका महिलाको जीवन बचाउन सरकार संवेदनशील रहेको मन्त्री बस्नेतले बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भएपनि अहिले थोरैलाई मात्र दिन सकिएको बताउँदैं एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान संचालन गरिने बताए ।

सचिव देवकुमारी गुरागाईले यो खोपको शुभारम्भ हुनु खुशीको कुरा भएको बताउँदै मन्त्रालय सबैलाई पुग्ने गरी खोप ल्याउन लागि परेको बताइन् ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरी खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसका गाभी सकारात्मक रहेकोले एक वर्षभित्र सबैका लागि खोप आइपुग्ने जानकारी दिइन् ।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए ।

दुई मात्रा दिइने एचपीभी खोप १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइनेछ ।

एचपीभी खोप पहिलो चरणमा सातवटै प्रदेशका प्रमुख अस्पतालबाट दिइने छ । जसमा कोशी प्रदेशको कोशी प्रदेशमा अस्पताल, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसुति गृह, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालबाट दिइनेछ ।

यसैगरी, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एचपीभी खोप लगाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ