काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन, समायोजन मिलान र समायोजन संशोधन भएका कर्मचारीलाई कामकाजमा लगाउन निर्देशन दिएको छ । मंगलबार मन्त्रालयले तारकेश्वर नगरपालिकालाई पत्राचार गर्दै कामकाजमा लगाउन र तलब भत्ता अपुग भए माग गर्न भनेको छ ।
‘समायोजन, समायोजन मिलान तथा समायोजन संशोधन भएका कर्मचारीहरुलाई यथावत रुपमा हाजिर गराई कामकाजमा लगाउनुहुन र तलब भत्ता नपुग भएमा (दोहोरो नपर्ने गरी)मात्र माग गर्नुहुन यस मन्त्रालयको मिति २०८०/०५/२६ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले तारकेश्वरलाई लेखेको पत्रमा छ ।
यसअघि तारकेश्वर नगरपालिकाको ११ भदौंको कार्यपालिका बैठकले कामकाजमा खटी आएका, समायोजन संशोधन भएर आएका र समायोजन मिलान भएर आएका स्वीकृती दरबन्दीभन्दा बढी कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय विपरित तारकेश्वरले २५ जना स्वास्थ्यकर्मीलाई फिर्ता गर्ने तयारी गरेको थियो ।
तर, पछि ६ जना काजकासहित ९ जनालाई भने पालिकाले आफ्नो पूर्ववत तयारीमा पछि हटेर काममा राखेका थियो भने बाँकी १६ जनालाई भने २० भदौंदेखि हाजिर नगराउने र बरबुझारथ गर्न लगाएर नगरपालिकामा पठाउन व्यवस्था गर्न मातहतका स्वास्थ्य संस्थालाई पत्राचार गरेको छ ।
नगरपालिकाको उक्त निर्णय विरुद्ध फिर्ता पठाउने निर्णय भएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका थिए । उक्त निवेदनपछि मन्त्रालयले मंगलबार तारकेश्वर नगरपालिकालाई समायोजन, समायोजन मिलान र समायोजन संशोधन भएका कर्मचारीलाई कामकाजमा खटाउन निर्देशन दिएको हो ।