२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्सर रोगबारे चेतना फैलाउन पदयात्राको तयारी

क्यान्सर रोगबारे चेतना फैलाउन पदयात्राको तयारी


काठमाडौं– क्यान्सर रोगीका बिरामीको उपचारको सहयोगका लागि पदयात्रा कार्यक्रम गरिने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर रोग सम्बन्धि सचेतना जगाउने उद्धेश्यका साथ भदौ ३० गते शनिबार पदयात्रा कार्यक्रमको आयोजना गर्न लागेको हो ।

क्यान्सर रोगबाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडित परिवारका सदस्यहरुको व्यवस्थापनमा सहयोग गर्नुका साथै देशव्यापी अभियानका रुपमा क्यान्सरबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीका साथै उपचारमा सहयोग प्रदान गर्ने कार्यक्रमको लक्ष्य रहेको संस्थाका अध्यक्ष महेश श्रेष्ठले भने ।

इभेण्ट सोलुसनको व्यवस्थापनमा आयोजना हुने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै समापन हुनेछ ।

विभिन्न किसिमका रोगको परीक्षण गरी स्वास्थ्य परामर्श दिने तथा रक्तदान जस्ता कार्यक्रम समेत समेत आयोजना हुने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

“स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी संस्थाको कार्यालय रहेको स्थानमा क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनाको काम सुरु गर्ने उनले जानकारी दिए ।

५ हजार जनाको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका सहभागीबाट सहयोग स्वरुप संकलित रकम संस्थाको निर्माणधीन भवनमा क्यान्सर डाइग्नोसिस सेन्टरको पुर्वाधार निर्माणमा लगानी हुनेछ ।

पदयात्रामा सहभागी हुनेहरुले प्रतिव्यक्ति १ हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदा टीशर्ट, क्याप, र फूड प्याकेज पाउनेछन् । कार्यक्रमको पेमेण्ट पार्टनर आईएमई पे मा लगइन गरेर पदयात्रामा सहभागि हुनका लागि टिकट खरिद गर्न सकिने इभेण्ट सोलुसनले जनाएको छ ।
समाज सेवाको यो अभियानमा सहभागि भई आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका अध्यक्ष श्रेष्ठले आम नागरिक, सम्बद्ध संघ संस्था लगायतलाई आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संरक्षकत्व तथा काठमाण्डौं महानगरपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमलाई सेरो ल्याब ग्रुपले शीर्ष प्रायोजन गरेको छ भने ३ दर्जन बढी संस्थाहरुले सहयोग गरेका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्थाले नेपालमा क्यान्सर रोगको रोकथामका लागि चेतना अभिवृद्धी सम्वन्धी कार्यक्रमका साथै क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउँदै आएको छ । विगत ४१ बर्ष अर्थात २०३९ सालदेखि गैर नाफामूलक र समुदायमा आधारित राष्ट्रिय तहको सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले देशका ४५ जिल्लामा शाखा विस्तार गरिसकेको छ ।

नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथामका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल अर्बुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थहरुको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको छ । विषेशतः सूर्तिजन्य पदार्थको रोकथाम र नियन्त्रण, खानपान रहनसहन र दिनचर्यालाई गतिशिल र चलायमान बनाउनु पर्ने कुरा, पोषणयुक्त खानपानको उपभोग जस्ता कुराहरुलाई पनि कार्यक्रममा एकाकार गर्दै लगिएको संस्थाले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ