२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआँखा दान सम्बन्धि चेतना बढ्दै

आँखा दान सम्बन्धि चेतना बढ्दै


काठमाडौं– नेपालमा पछिल्लो समय आँखा दान सम्बन्धि मानिसमा चेतना बढ्दै गएको पाइएको छ । अंग दान सम्बन्धि चेतना थालेपछि नानी प्रत्यारोपणमा नेपाल आत्मनिर्भर बन्न थालेको तीलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

पछिल्ला केही वर्ष यता नेपालमा देशभरबाट वार्षिक १२ सय देखि १५ सयको हाराहारीमा नानी संकलन हुने गरेको तिलगंगा आँखा प्रतिष्ठानका आँखा बैक म्यानेजर शंखनारायण त्वोयनाले बताए । उनका अनुसार आँखा दानसम्बन्धि मानिसमा आएको चेतनाको वृद्धिसँगै नानी शंकलनमा आत्मनिर्भर बन्न थालेको हो ।

नेपालमा आँखा बैंकको स्थापना सन् १९९४ मा भएको थियो । बैंक स्थापना भएपनि शंकलन हुन भने मुस्किल थियो । आँखा बैंक सुरु भएपछि पनि केहि वर्ष नेपालले विदेशी मूलुकबाट नानी सहयोग लिने गथ्र्यो । तर अहिले विदेशबाट ल्याउन नपर्ने उनी बताउँछन् । ‘१९९९ सम्म हामीले मानविय सहयोगका रुपमा विदेशका विभिन्न मुलुकबाट नानी सहयोग लिएका थियौँ । अहिले हामी परनिर्भर हुने बाध्यताबाट मुक्त भएका छौं,’ उनी भन्छन् ।

आँखा दान अर्थात नानी दान मानिसको मृत्युपरान्त मात्रै हुन्छ । आँखामा रक्त सञ्चार नहुने भएका कारण अन्य अंग लिन  अफ्ठारो हुदैन ।  जसको जसलाई पनि दान गर्न सकिन्छ । एक जना दाताले आँखा दान गर्न सके चार जना दृष्टिविहिनले नयाँ जिन्दगी पाउने त्वयेना बताउँछन् ।

आँखा बैंक स्थापना गर्दा जम्मा एक जना दाताबाट बैंकलाई दुई वटा नानी प्राप्त भएको थियो । अहिले भने मानिसमा आँखा दान महादान हो, भन्ने चेतनाको विकास भएको उनी बताउँछन् ।

आँखा दान गर्नका लागि २ वर्षदेखि ७० वर्षसम्म उमेर समूहका मानिसहरू योग्य रहन्छन् । तर, क्यान्सर, एचआईभी, क्षयरोग र हेपाटाइटिस रोग लागेर मृत्यु भएका र आँखा खराब भएका मृतकहरूको भने आँखा प्रत्यारोपण गरिँदैन ।

नेपाल आँखा बैंक स्थापना भएदेखि हालसम्म करिब एक लाखको हाराहारीमा मरणोपरान्त आँखा दान गर्ने इच्छापत्रको फारम भरिएको छ । हालसम्मको तथ्यांक अनुसार ८० हजारभन्दा बढीले मृत्यु पश्चात् आँखा दान गर्ने इच्छापत्र दिइसकेको आँखा बैंक म्यानेजर त्वोयनाले बताए ।

देशभरबाट संकलन भएका नानीको प्रशोधन तिलगंगा आँखा प्रतिष्ठानले नै गर्ने गर्छ । नेपालमा वार्षिक हजारौंको संख्या आँखाको नानीको माग हुने गरेको आँखा बैंक म्यानेजर त्वयेना बताउँछन् । आँखा दान सम्बन्धि अझै व्यापक रुपले चेतना बढे पनि माग अनुसार आपूर्ती गर्न अझै नसकिएको उनको भनाई छ । ‘हामीले आँखाको नानी तीन किसिमले प्रिजभ गर्छौँ । एउटा सर्ट टर्म, जसलाई चार दिनसम्म राख्न सक्छौँ । त्यस्तै अर्को मिड टर्ममा १४ दिन र लङ टर्ममा एक महिनासम्म राख्न सकिन्छ,’ उनी भन्छन्– ‘ तर हामीकहाँ एक हप्ता पनि रहन मुस्किल पर्छ ।’

तीलगंगा आँखा प्रतिष्ठानले पूर्व मेची नेत्रालय, बिराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, सिद्धार्थ आँखा अस्पताल, दिव्य दृष्टि, भरतपुर आँखा अस्पताल, पोखरा आँखा अस्पताल, गेटा आँखा अस्पताललाई नानी संंकलन गरी प्रत्यारोपण गर्न योग्य आँखा पठाइने बैंक म्यानेजर त्वोयनाले बताए । उनका अनुसार देशभर वार्षिक एक हजार बढी आँखाका नानी प्रत्यारोण गराउन आँखा बैंक सफल भएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ