२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिमा १ बजे नै ओपीडी टिकट बन्दको मार : इमर्जेन्सीमा पालो कुर्दाकुर्दै बालिकाको मृत्यु

कान्तिमा १ बजे नै ओपीडी टिकट बन्दको मार : इमर्जेन्सीमा पालो कुर्दाकुर्दै बालिकाको मृत्यु

अस्पतालका निर्देशक भन्छन्, ‘दुई घण्टा होइन्, ८० मिनेट इमर्जेन्सीमा पालो कुर्नुपरेको हो'


काठमाडौं—देशकै प्रमुख बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पताल इमर्जेन्सीमै पालो कुर्दाकुर्दै बालिकाको मृत्यु भएको छ । सोमबार मकवानपुर थाहा नगरपालिका—१० घर भएर काठमाडौं बाफलमा बस्दैं आएकी पाँच वर्षीया रेजिशा गोपालीको अस्पतालको इमर्जेन्सीमा कुर्दाकुर्दै मृत्यु भएको हो ।

केन्द्रीय बाल अस्पतालको ओपीडी सेवाको टिकट १ बजेबाटै बन्द गर्दा रेजिशाले समयमै उपचार नपाएर अनाहकमा ज्यान गुमाउनु परेको हो । उच्च ज्वरोले थलिएकी रेजिशालाई सोमबार अपरान्ह ५ बजे उनका आमा र हजुरबुवाले कान्तिको इमर्जेन्सीमा पुर्‍याएका थिए ।

तर, १ बजेदेखि नै ओपीडी सेवा टिकट बन्दका कारण सबै बिरामी इमर्जेन्सीमै ओइरिएर भद्रगोल अवस्था बनेको थियो । त्यही कारण इमर्जेन्सी लाइनमा पुगेकी सिकिस्त बिरामी रेजिशाले समयमा इमर्जेन्सीमा उपचार पाउनुको साटो ८० मिनेट लाइनमै कुर्नुपर्दा हजुरबुवाको काखमै ज्यान गुमाइन् ।

रेजिशाको उपचारमा ढिलाइ भएकै कारण मृत्यु भएको विषय अस्पतालले पनि स्वीकार गरिसकेको छ । अस्पतालका निर्देशक डा. पंकज राय उपचारमा ढिलाइ भएकै कारण बालिकाले ज्यान गुमाएको स्वीकार गर्छन् । ‘२ घण्टा होइन् उहाँले ८० मिनेट लाइनमा बस्नुपरेको छ,’ डा. रायले भने, ‘इमर्जेन्सीको लाइनमा जस्तो बिरामी पनि बस्नुपर्ने अवस्था छ । कोही सामान्य र कोही साँच्चै इमर्जेन्सी नै हुन्छन् । छुट्याउन गाह्रो अवस्था छ ।’

डा. रायले १ बजे नै ओपीडीको टिकट बन्द हुने र त्यसपछि आएका बिरामी सबैले इमर्जेन्सीमा टिकट लिनुपर्ने अवस्था भएका कारण इमर्जेन्सीमा चर्को भिड हुने गरेको बताए । त्यही भिडका कारण बिरामीको इमर्जेन्सी केस पहिचानमा समस्या हुने गरेको पनि उनले स्वीकार गरे ।

‘१ बजेपछि सबै जनाको इमर्जेन्सीमै उपचार हुन्छ । त्यसलाई कसरी एड्रेस गर्ने र सिकिस्त बिरामीलाई पहिचान गर्न टिकट नकाटेरै इमर्जेन्सीमा पुर्‍याउनका लागि एक जना नर्सिङ कर्मचारी इमर्जेन्सी ढोकामै राख्ने प्रबन्ध हिजोबाट गरिएको छ,’ उनले भने, ‘त्यसका लागि ट्रायज सिष्टम लागु गरेका छौं । सिकिस्त बिरामीको बरियताअनुसार अब नर्सिङ कर्मचारीले अति आकस्मिकलाई टिकट नै नलिएर रातो कार्ड दिएर इमर्जेन्सीमा जाने प्रबन्ध गर्नेछन् । त्यसैगरी, मध्यम सिकिस्तलाई पहेंलो र सामान्यलाई हरियो कार्ड दिएर उपचारको प्रबन्ध हुनेछ ।’

इमर्जेन्सीको लाइनमा उपचार नपाएर मृत्यु हुनेजस्तो गम्भीर लापरवाहीको घटना घटेपछि कान्तिले इमर्जेन्सी लाइनमा दुई जनालाई विशेषज्ञ चिकित्सकलाई आधा—आधा घण्टाका फरकमा निरिक्षण गर्न समेत खटाउने व्यवस्था गरेको निर्देशक डा. रायले बताए । तर, अझै पनि कान्ति अस्पताल नेतृत्वले इमर्जेन्सीलाई छरितो बनाउन र भिड घटाउन ओपीडीको समय बढाउनेतिर भने ध्यान दिएको छैन् ।

जबकी, वीर अस्पतालले ८ बजेदेखि ४ बजेसम्म नै ओपीडी सेवा संचालन गरेर सरकारी अस्पतालमा हुने बिरामीको चर्को भिड कम गर्नेतिर अग्रसर रहेको छ । कान्तिका निर्देशक डा. राय भने ओपीडी समय बढाउनका लागि सरकारले निर्णय गरिदिनुपर्ने बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ