२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा दुई जनामा निःशुल्क गरियो ‘कोक्लियर इम्प्लान्ट’

वीर अस्पतालमा दुई जनामा निःशुल्क गरियो ‘कोक्लियर इम्प्लान्ट’


काठमाडौं—वीर अस्पतालमा दुई जना बिरामीमा निःशुल्क कोक्लियर इम्प्लान्ट गरिएको छ । वीर अस्पतालको नाक, कान घाँटी विभागका पूर्व प्रमुख तथा कोक्लियर इम्प्लान्टका प्रा.डा. दिपेन्द्र श्रेष्ठसहितको टिमले दुई जनामा निःशुल्क कोक्लियर इम्प्लान्ट गरेको हो ।

वीरको टोलीलाई भारतका प्रख्यात कोक्लियर इम्प्लान्ट सर्जन डा. जेएम हंसले सघाएका थिए । भारतको नियोबायो इम्प्लान्टले कोक्लियर इम्प्लान्ट निःशुल्क रुपमा उपलब्ध गराएको थियो ।

सो इम्प्लान्ट एक १८ वर्षीया किशोरी र ६० वर्षीय पुरुषमा सफलतापूर्वक राखिएको हो । किशोरीमा सुरुमा सुन्ने र विस्तारै पटक्कै नसुन्ने समस्या रहेको थियो । पुरुषमा भने कोभिड—१९ दुवै कान पटक्कै नसुन्ने समस्या रहेको थियो ।

डा. हंशकाअनुसार जन्मजात नसुन्ने समस्या भएका बालबालिकाहरुका लागि यो इम्प्लान्ट अति उपयोगी हुन्छ । ५ वर्षमुनिकै बालबालिकामा इम्प्लान्ट राख्न सके सामान्य मान्छेजस्तै जीवनयापन गर्न सकिने उनको भनाइ छ।

कोक्लियर इम्प्लान्टका लागि नेपाल सरकारले त्रिवि शिक्षण अस्पतालमा एक जना बराबर ६ लाख रुपैयाँ अनुदान दिदैं आएको छ । शिक्षण अस्पताललाई उपलब्ध गराएअनुसार वीर अस्पताललाई पनि सरकारले अनुदान दिएमा नियमित रुपमा कोक्लियर इम्प्लान्ट सेवा सुरु गर्न आफूहरु तयार रहेको प्रा.डा. श्रेष्ठले बताए ।

नियोबायो इम्प्लान्टका प्रतिनिधी सुशील खानकाअनुसार वीर अस्पताललाई उपलब्ध गराएको एउटा इम्प्लान्टको मूल्य ५ लाख भारतीय रुपैयाँ पर्ने गर्छ । खानले नेपाल सरकारले वीर अस्पतालमा नियमित सेवा दिएमा आफूहरुले सहुलियत मूल्यमा इम्प्लान्ट उपलब्ध गराउने बताए ।

यसैगरी, आइतबार नेपाल मेडिसिटी अस्पतालमा एक जनाको कोक्लियर इम्प्लान्ट गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ