वीरेन्द्रनगर—सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले पाँच वर्षपछि चिकित्सक पाएको छ । स्वास्थ्य केन्द्रमा आएका चिकित्सक हेमराज शर्मा वि.सं २०७५ भदौमा अध्ययन विदामा गएपछि पहिलोपटक स्वास्थ्य केन्द्रले चिकित्सक पाएको हो ।
वि.सं. २०६४ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा अहिले डा. निशा आचार्यले सेवा दिन थालेकी हुन् । उनी आउपछि लामो समयपछि स्वास्थ्य केन्द्रले चिकित्सक पाएको हो ।
एक डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा छत्रेश्वरी गाउँपालिकाले निरन्तर प्रयासपछि आफैं डाक्टर नियुक्त गरेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए ।
‘सुविधासम्पन्न अस्पतालहरुमा समेत डाक्टर जान नमानिरहेको अवस्थामा विकट क्षेत्र लेखपोखरामा डाक्टरको व्यवस्था भएपछि स्थानीयहरु खुसी छन्,’ उनले भने, ‘तर, आएका डाक्टर लामो समयसम्म टिक्ने हुन् कि होइनन् भन्ने चिन्ता छ । संघीय सरकारसँग अनुमति लिई आवश्यक सबै प्रक्रिया गरेर डाक्टरको व्यवस्थापन गरिएको छ ।’
छत्रेश्वरी गाउँपालिकासँगै शारदा नगरपालिकाका केही वडाका नागरिकलाई समेत उपचार सुविधा दिनका लागि लेखपोखरामा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयहरुलाई खलंगा, श्रीनगर, लुहाम तथा दाङ पुग्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताए । ‘अब गाउँमै डाक्टरसहितको स्वास्थ्य सेवा सुरु भएपछि विभिन्न रोगको चेकजाँच र उपचार पाइने अपेक्षा गरिएको छ,’ उनले भने ।
स्वास्थ्य केन्द्रमा आएका मेडिकल अधिकृत डा. निशा आचार्यले आफू लामो समयसम्म सेवा गर्ने प्रतिवद्धता गरिन् । ‘डाक्टर छिटो जाला भनेर स्थानीयहरु आत्तिनु पर्दैन,’ उनले भनिन्, ‘तर केही चुनौतीहरु छन्, पहिले यहाँ डाक्टर किन टिकेनन् भन्ने पनि बुझ्नुपर्छ । बिरामी जाँचेर मात्र भएन, त्यसैअनुसार औषधी, परीक्षणका सामग्रीहरु उपलब्ध हुनुपर्याे । हामी र हाम्रो पालिकाको टिम सबै व्यवस्थापनका लागि लागि परेका छौं ।’
डा. आचार्य लुम्बिनी मेडिकल कलेजबाट एमबीबीएस गरेर करिब एक वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सेवा गरिसकेको बताइन् ।
प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा हाल मुख्य रुपमा ल्याबको समस्या रहेको डा. आचार्यले बताइन् । ‘कतिपय मेसिनहरु छ तर संचालन छैन् । केही मेसिन उपकरण ल्याउने तयारी भएको छ । वेसिक जाँचहरु दिसा पिसाब, रगतको जाँच नहुँदा, एक्सरे सेवा नहुँदा उपचारमा समस्या हुन्छ । सबै औषधीहरु पनि उपलब्ध छैन,’ उनले भनिन्, ‘असाध्यै न्यून औषधीहरु उपलब्ध भएको र यसबाटै सेवा सुरु गरेको छौं ।’
हाल दैनिक आफूले २५ जनादेखि ३० जनालाई चेक जाँच गर्ने गरेको उनको डा. आचार्यले बताइन् । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर, एकजना स्टाफ नर्स, एक जना एचए, तीन जना अहेब, तीन जना अनमी र एक जना ल्याब असिस्टेन्टको दरबन्दी रहेको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईले बताइन् ।