२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२०० बिरामीको निःशुल्क शल्यक्रिया हुने

नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीबीच सम्झौता, २२०० बिरामीको निःशुल्क शल्यक्रिया हुने


काठमाडौं—नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीकाबीच आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार दुई संस्थाबीच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त र महासचिव भरतबहादुर चन्द तथा कतार च्यारिटीकातर्फबाट कन्ट्री डाइरेक्टर मोहम्मद बकास र कार्यक्रम व्यवस्थापक इरसाद अली शेखले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बाँके, कपिलवस्तु, रौतहट, सुनसरी र सर्लाही जिल्लाहरुका ग्रामीण क्षेत्रका नागरिकहरुलाई लक्षित गरी विभिन्न आँखा शिविरहरुको आयोजना गरी २ हजार २ सय मोतियाविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । आँखा शिविर तथा शल्यक्रियाका लागि आर्थिक सहयोग कतार च्यारिटीले गर्नेछ भने प्राविधिक सहयोग नेपाल नेत्रज्योति संघले गर्नेछ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले कतार च्यारिटीजस्तै दातृ निकायहरुको सहयोग र सहकार्यमा सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण हुने विश्वास व्यक्त गरे ।

कतार च्यारिटीका कन्ट्री डाइरेक्टर मोहम्मद बकासले च्यारिटीले विगत ५ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानपानी र जीविकोपार्जन क्षेत्रमा कार्य गर्दै आइरहेको र स्वास्थ्य क्षेत्रमा मोतियाविन्दुको सर्जरीमार्फत दृष्टि पुर्नस्थापनाका लागि नेत्रज्योति संघसँग यो सम्झौता गरिएको र यसबाट २ हजारभन्दा बढी बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताए ।

संघका महासचिव भरतबहादुर चन्दले नेपालको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय भएकाले विभिन्न देशका नागरिकहरु नेपालमा आँखा उपचार गराउन आइरहेको भन्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित संघले आफ्ना कार्यक्रमहरु अगाडि बढाइरहेको बताए ।

उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले कतार च्यारिटीसँगको सहकार्यले आर्थिक अभावकै कारण आँखा उपचारबाट वन्चित नागरिकहरुले निःशुल्क आँखा उपचार प्राप्त गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ भने विभिन्न दातृ निकाय, नेपाल सरकार तथा विभिन्न स्थानीय तहहरु संघको सहकार्यमा वार्षिक हजारौं निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरु संचालन गर्दै आइरहेको छ ।

त्यस्तै, कतार च्यारिटीले नेपाल एकीकृत विकास कार्यक्रम (एनआईडिपी)–२’ परियोजनाअन्तर्गत नेपालका विभिन्न ९ जिल्लाहरुमा स्थानीय साझेदारहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । च्यारिटीले नेपालमा बिशेषगरी उत्पादनशीलता र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ