२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधीजस्तो संवेदनशील वस्तुको बिक्री वितरणमा बदमासी गर्नेलाई कारवाही गरिने : स्वास्थ्यमन्त्री

औषधीजस्तो संवेदनशील वस्तुको बिक्री वितरणमा बदमासी गर्नेलाई कारवाही गरिने : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्टभन्दा फार्मेसीको संख्या बढी हुन नहुने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा फर्मासिष्टभन्दा फार्मेसीको संख्या बढी रहेको बताउँदैं फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने बताए ।

औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्धि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फर्मासिष्ट बिना फार्मेसी चलाउनु बदमासी भएको बताए । ‘फर्मासिष्ट बिनै फार्मेसी चलाउनु ज्यानमारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारवाही गर्नेछौंं,’ उनले भने ।

केही दिनअघि गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धेरैजसो फार्मेसी फर्मासिष्ट बिनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउँदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशील वस्तुको बिक्री वितरणमा बदमासी गर्नेहरुलाई कडाभन्दा कडा कारवाही गर्न पछि नपर्ने बताए । औषधीको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधी प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधी व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताए । विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरुको अनुगमनको काम गर्न नसकिरहेको उनको भनाइ थियो ।

ढकालले गत वर्ष मात्र ३ हजारभन्दा बढी फार्मेसीको निरीक्षण गरेको, २ हजार नयाँ फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधीमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई विक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।

औषधी व्यवस्था विभागका गुणस्तर मापन तथा कानून कार्यन्वयन महाशाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोक गरी ३२ हजार औषधी पसल रहेको जानकारी दिदैं दैनिक ७ देखि १० वटा औषधी पसल दर्ता हुने गरेको बताए । क्षेत्रीले साउनमा मात्र १ सय ९० औषधी पसलको अनुगमन गरेको बताए ।

तीन दिनसम्म चल्ने उक्त क्षमता अभिवृद्धि तालिममा सयभन्दा बढी फर्मासिष्ट, सहायक फर्मासिष्टहरु सहभागी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ