२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना

वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना


काठमाडौं—वीर अस्पतालका चिकित्सकहरुले ११ वर्षदेखि सानो आन्द्रामा अडकिएर बसेका लिची, आरु बखडा र लप्सीका दानाहरु निकालेका छन् । गत शुक्रबार वीरको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलसहितको चिकित्सक टिमले इन्डोस्कोपीको सहायता सानो आन्द्रा साघुरिएको स्थानमा अड्किएका ७ वटा दानाहरु निकालेको हो ।

‘सानो आन्द्रा साघुरिएको हुनाले विगत ११ वर्षअघिदेखि आन्द्रामा अड्किएर बसेका लिची, आरु बखडा र लप्सीका ७ वटा दानाहरु इन्डोस्कोपीको सहायताले निकाल्यौं,’ डा. शर्माले भने, ‘हामीलाई आन्द्रामा रहेका दाना निकाल्न झण्डै ४५ मिनेट लाग्यो ।’ उनकाअनुसार नचपाएर निलेका दानाहरु आन्द्रा साँघुरिएको ठाउँमा अडकिएका थिए, त्यसले ती वृद्ध बिरामीमा वान्ता हुने समस्या निम्त्याएको थियो । ६ महिनाअघि वान्ता हुँदा दुई वटा दाना निस्किएको बिरामीले चिकित्सकलाई बताएका छन् ।

दोलखा कालिन्चोकका ७२ वर्षीय ती वृद्ध बिरामी एक हप्ताअघि वीरको ग्यास्ट्रोइन्टेरोलोजीको ओपीडीमा आएका थिए । दुई महिनादेखि वान्ता हुने समस्या लिएर आएका उनको समस्या पत्ता लगाउन चिकित्सकहरु इन्डोस्कोपी गर्दा उनको आन्द्रामा दानाहरु अड्किएको पत्ता लागेको थियो ।

‘उहाँले १० वर्षयता मैले लिची, आरु बखडा र लप्सी खाएको छैन भन्नुभएको छ,’ डा. शर्मा पौडेलले भने, ‘त्यसकारण आन्द्रा साँघुरिएको स्थानमा अडकिएका यी दानाहरु अझ त्यो भन्दा लामो समय भएको हुनुपर्छ ।’

सानो आन्द्रामा दानाहरु देखिएपछि ती बिरामीलाई वार्ड भर्ना गरेर उपचार सुरु गरियो । डा. शर्मा र ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. दिवस खड्काले शुक्रबार आन्द्रामा रहेका लिची, आरु बखडा र लप्सीका ७ वटा दानाहरु इन्डोस्कोपीको सहायताले झिके । ‘ब्लकेज भएको ठाउँमा बेलुन फुलाएर खुला बनाएर ४५ मिनेट लगाएर ७ वटा दाना झिक्यौं,’ डा. शर्मा पौडेलले सुनाए, ‘उहाँको भुडीमा अझै पनि दानाहरु छन् । आन्द्रा खोलेपछि भुँडीमा रहेका दानाहरु निस्केलान भनेर हामीले सोचेका छौं ।’ ती दानाहरु आफै ननिस्किएमा मंगलबार वा बुधबार चिकित्सकहरुले पुनः इन्डोस्कोपी गरेर निकाल्ने योजना बनाएका छन् ।

अहिले वार्डमा रहेका ती वृद्ध बिरामीको स्वास्थ्य अवस्था सामान्य छ । उनी खाना पनि खाइरहेका छन् । यो अवस्था कसरी आउँछ ? भन्ने हेल्थआवाजको प्रश्नमा डा. शर्मा पौडेलले थपे, ‘मान्छेको उमेर बढ्दैं जाँदा चपाउन सक्दैनन् । चपाउन नसकिएको कुरा निल्न नहुने हो तर उहाँले निल्नुभएछ । त्यही कुरा साघुरिएको सानो आन्द्रामा गएर अड्कियो ।’ मेडिकल भाषामा यो स्वास्थ्य समस्यालाई ‘फरेन वडी इन्जेसन’ भनिने उनले जानकारी दिए ।

@mshgastromed सानो आन्द्रा साघुरिएको हुनाले , बिगत ११ बर्ष देखि आन्द्रा मा अड्किएर बसेका लिच्ची , आरु बखडा र लप्सी का दाना हरु इन्डोस्कोपी को सहायता ले निकालिदै। #doctor #gastroenterologist #medicaleducation #birhospital #fyp ♬ Epic Music(863502) – Draganov89




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ