काठमाडौं—स्वास्थ्य विमा वोर्डले काजका रहेका स्वास्थ्यका कर्मचारीलाई आफ्नो दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको छ । २४ साउनमा वोर्डले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार काजका स्वास्थ्यका कर्मचारीहरूलाई १५ भदौंभित्र दरबन्दी भएको ठाउँमा फिर्ता भइसक्न निर्देशन दिएको हो ।
स्वास्थ्य विमा वोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फर्किसक्न भनेको छ । काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको छ ।
यस्तै, पाँचथर, सर्लाही, सप्तरी, दोलखा, लमजुङ, पर्वत, प्युठान, डोल्पा र डोटी जिल्लामा विमामा कर्मचारी काजका स्वास्थ्यकर्मी मात्रै भएका कारण उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि त्यही रोकिएको छ । ती जिल्लाका लागि पनि विमा वोर्ड कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरिसकेको स्वास्थ्य विमा वोर्डका प्रशासन उपसचिव बाबुराम खनालले जानकारी दिए ।
‘कर्मचारी पदपूर्ति प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा भएपछि ती जिल्लाका काजका स्वास्थ्यकर्मीहरु पनि फिर्ता हुनेछन्,’ उनले भने ।
अहिले स्वास्थ्य विमा वोर्डअन्तर्गत ९१ जना स्वास्थ्यकर्मी काजमा काम गरिरहेका छन् । जसमध्ये ८—९ जनामात्रै आफ्नो दरबन्दीमा फिर्ता भएका छन् ।
विमा वोर्डले काजका कर्मचारी फिर्ता गर्न थालेपछि कतिपय ठाउँमा स्वास्थ्य विमाको काम ठप्प हुन पुगेको छ ।