२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधुलिखेल अस्पतालको साढे २४ करोड बेरुजु, स्वास्थ्यमन्त्री भन्छन्, ‘मन्त्रालयले सक्दो सहयोग गर्छ’

धुलिखेल अस्पतालको साढे २४ करोड बेरुजु, स्वास्थ्यमन्त्री भन्छन्, ‘मन्त्रालयले सक्दो सहयोग गर्छ’


काठमाडौं—काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालका नाममा साढे २४ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यलयले प्रत्येक वर्ष निकाल्ने प्रतिवेदनमा अस्पतालको २०७४/०७५ देखि २०७८/७९ सम्म लगेको २४ करोड ५९ लाख ३७ हजार ८४० रुपैयाँको बेरुजु फर्स्योट नगरेको औल्याइएको छ ।

अस्पताल स्थापनादेखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत धुलिखेल सामुदायिक अस्पतालले अनुदान लगिरहेको छ । अस्पतालले आर्थिक वर्ष २०७४/०७५ देखि पछि लगेको अनुदानको हिसाब किताब भने हालसम्म फर्स्योट गरेको पाइदैंन् ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रकाशित महालेखाको वार्षिक प्रतिवेदनले त अस्पताललाई नै ‘गैरकानुनी’ भनेको छ । सो अस्पतालले ४४० शैय्या संचालन गरेतापनि अनुमति नलिएर संचालन गरेको भन्दैं १ लाख ७० हजार रुपैयाँ जरिवाना र सोमा लाग्ने दस्तुरसमेत असुल उपर गर्नुपर्ने उल्लेख गरेको छ ।

सोही आर्थिक वर्षका लागि छुट्याइएको ५ करोड ६१ लाख ३५ हजार रुपैयाँ अनुदान मन्त्री र सचिवस्तरीय निर्णय गरेर ०७८/०७९ मा खर्च गर्ने गरेको निर्णय गरेकोले त्यो पनि कानुनी प्रक्रिया बाहिर गएकाले सरकारको संचिती कोषमा दाखिला गर्नुपर्ने महालेखाको ठहर छ ।

अस्पताललाई आईसीयु र भेन्टिलेटर खरिदका लागि १ करोड ८० लाख रुपैयाँ भुक्तानी दिन स्रोत सुनिश्चितता गरिएको तर भेन्टिलेटर स्थापना भएको प्रमाण पेश नभएको महालेखाको प्रतिवेदनमा छ ।

आर्थिक वर्ष २०७७/०८८ मा नै २५ एचडियु स्थापना गर्न ३ करोड १२ लाख ७० हजार स्रोत व्यवस्थापन हुँदाहुँदैं पनि एचडियु जडान नगरेका, कोभिड—१९ को उपचार खर्च प्रतिकेश उपलब्ध गराउँदा सरकारले जारी गरेको आदेश बमोजिम तथ्यांक उपलब्ध गराउन नसकेको भन्दैं ३ करोड ९२ लाख १० हजार, ०७७/०७८ मा नै २५ बेडको एचडियु स्थापना गर्दा आयकर बराबरको १८ लाख ६५ हजार ८४० रुपैयाँ दाखिला नगरेको भन्दैं महालेखाले असुल उपर गर्नुपर्ने प्रतिवेदन दिएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा निःशुल्क सेवा प्रदान गरेको विवरण पेश नभएको भन्दैं ९८ लाख ३९ हजार रुपैयाँ बेरुजु देखाएको छ । यसैगरी, आर्थिक वर्ष ०७४/०७५ मा ३४ लाख ४८ हजार रुपैयाँ, ०७५/०७६ मा ८ करोड ५० लाख रुपैयाँ, ०७६/०७७ मा १ करोड रुपैयाँ अस्पतालका नाममा बेरुजु देखिएको छ ।

महालेखाले धुलिखेल अस्पतालका नाममा आर्थिक वर्ष ०७४/०७५ देखि बेरुजु देखाएपछि गत स्वास्थ्य मन्त्रालयले अनुदान स्वरुप अस्पताललाई ८ करोड रुपैयाँ बजेट सुनिश्चिता गरेतापनि रोकिएको छ ।

चालु आर्थिक वर्षका लागि मन्त्रालयले धुलिखेल अस्पतालको स्वामित्वमा बन्न लागेको ‘धुलिखेल हस्पिटल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ लाई २ करोड रुपैयाँ अनुदान छुट्याएको छ । सोमबार धुलिखेल पुगेका स्वास्थ्यमन्त्री बस्नेतले करोडौं बेरुजु रहेको धुलिखेल अस्पताललाई निकट भविष्यमा ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बचन समेत दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ