२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री


धुलिखेल—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था हुन नहुने बताएका छन् । सोमबार दोस्रो आधारभूत जीवन रक्षा दिवसको अवसरमा धुलिखेल अस्पतालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था नभएको बताए ।

‘स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारेण्टी मैले लिन्छु,’ स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि देशभरका १६ वटै संघीय अस्पतालहरुका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउँदैं मन्त्री बस्नेतले भने, ‘सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिशत शैय्या विपन्नका लागि निःशुल्क गर्ने कानूनी प्रवधानलाई कडाइका साथ लागु गरेकाले बिरामीको उपचारमा धेरै हदसम्म सहज भएको छ ।’

उनले दुई वर्षभित्र सबै नेपालीलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधार स्तम्भ तयार पार्न आफू लागेको बताए ।

सानोतिनो रोगको उपचारका लागि भीआईपी र भीभीआईपीहरु विदेश जाने र करोडौ राज्यकोषको खर्च हुने गरेको जनगुनासोप्रति इंगित गर्दै उनले त्यसका लागि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको बताए ।

वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने बिरामीको संख्या ४० प्रतिशतले बढेको पाइएको बस्नेतको दावी छ । धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविष्यमा निर्माण गर्न लागेको ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताउँदै आफूहरुले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पूरा भएको बताए । ‘त्यसको लागि लगाव भने हुनुपर्छ,’ उनले भने ।

कार्यक्रममा एनेस्थेसिया विभाग प्रमुख डा. संगीना रंजितले आधारभूत जीवन रक्षाको सीप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताइन् ।

अस्पतालका मुटुरोग विज्ञ डा. राजेन्द्र कोजूले चिकित्सा विज्ञानमा कहिलेकाही उपकरणले पनि काम नगर्ने अवस्था आउने बताउँदै आधारभूत जीवन रक्षाको ज्ञानले धेरैको ज्यान बचाउन सकिने जानकारी दिए ।

काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका डीन डा. मनोज हुमागाईले यो सीप लिएर वर्षमा एक जनाले एक व्यक्तिको ज्यान बचाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुनेमा जोड दिए ।

कार्यक्रममा अर्थोपेडिक सर्जन डा. रोहित श्रेष्ठ, डा. आभा श्रेष्ठ, राष्टिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचनलगायतले बेसिक लाइफ सपोर्ट कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ