२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयमा गगन निकटलाई ‘वाइपास’, ‘टिम गगन’ भत्काउँदैं बस्नेत

स्वास्थ्य मन्त्रालयमा गगन निकटलाई ‘वाइपास’, ‘टिम गगन’ भत्काउँदैं बस्नेत


काठमाडौं—नेपाली कांग्रेसभित्रको आन्तरिक झगडाको छायाँमा यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियुक्ति तथा जिम्मेवारीमा पनि पर्न थालेको छ । कांग्रेसको संस्थापन अर्थात सभापति शेरबहादुर देउवा निकट मानिने मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् ।

मन्त्री नियुक्तिका बेला स्वास्थ्यमा आफ्नो पक्षबाट मन्त्री बनाउन महामन्त्री गगन थापा र उनको टिमले निकै प्रयास गरेको थियो । त्यसको कारण गगन आफू स्वास्थ्यमन्त्री हुँदा आफूले त्यहाँ निर्माण गरेको आफ्नो बलियो टिम कारण थियो । तर, देउवाले शेखर समूहका गगन र उनको टिमले स्वास्थ्य मन्त्रालयका लागि गरिरहेको जोडबल शेखरलाई नै प्रयोग गरेर निस्तेज गरिदिए । त्यसपछि देउवाकै रोजाइमा सिन्धुपाल्चोकका नेता बस्नेत स्वास्थ्यमन्त्री बने ।

आफ्नै पार्टीको स्वास्थ्यमन्त्री बनेपछि हौस्सिएका कांग्रेस निकट स्वास्थ्यका कर्मचारीहरु अहिले अनौठो बेचैनीमा दिन गुजारिरहेका छन् । स्वास्थ्यको उच्च तहका एक कांग्रेसनिकट कर्मचारीकाअनुसार बस्नेतले मन्त्रालयमा गगनले निर्माण गरेको बलियो टिम भत्काउने रणनीति अख्तियार गरेका छन् । त्यसका लागि उनले गगन निकटलाई नियुक्तिदेखि जिम्मेवारी हेरफेरसम्ममा वाइपास गर्दै गएका छन् । ‘गगन थापा निकट डाक्टर, नर्स, पारामेडिक्स जो भएपनि किरानामा पार्नुपर्छ भन्ने रणनीति स्वास्थ्यमन्त्रीको छ,’ ती कर्मचारी भन्छन्, ‘नियुक्ति र जिम्मेवारी हेरफेरमा पनि गगन निकटलाई पन्छाउँदैं आइएको छ ।’

त्यसको सबैभन्दा ठूलो उदाहरण हुन्—अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने यात्रामा ब्रेक । लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव रहेका डा. देवकोटा त्यहाँबाट बढुवा भएर अतिरिक्त सचिव भएर स्वास्थ्य मन्त्रालय फर्किनुको कारण महानिर्देशक बन्नु नै थियो । मन्त्री भएर आएपछि बस्नेत पनि विभागको महानिर्देशक फेर्न चाहन्थे ।

कतिसम्म भने डा. देवकोटाले विभागको महानिर्देशकका लागि रक्षामन्त्री तथा देउवा क्याम्पका प्रभावशाली नेता पूर्णबहादुर खड्काको ‘ग्रीन सिग्नल’ समेत पाइसकेका थिए । खड्काका भाइ डा. डम्बर खड्का पनि कुनै समय डिजीका दाबेदार थिए । तर, डा. देवकोटाले डा. डम्बरलाई मात्रै मनाएनन्, उनका दाइ पूर्णबहादुरको पनि ग्रीन सिंग्नल पाए । खड्काको ग्रीन सिग्नलपछि डा. देवकोटा स्वास्थ्य सेवा विभागको डिजी बन्ने लगभग पक्कापक्की थियो । तर, गगन निकट भएकै कारण उनका लागि मुखमा आइसकेको महानिर्देशक पद ‘आकाशको फल’को अवस्था बन्न पुग्यो ।

विभागको महानिर्देशकको दौडबाट विकासलाई वाइपास गरेपछि डा. संगीता मिश्रा एक्लो दावेदार थिइन् । तर, डा. विकासलाई वाइपास गर्दा पार्टीभित्रै असन्तुष्टि चुलिने देखेपछि मन्त्री बस्नेत तत्काललाई अहिलेकै महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई निरन्तरता दिने पक्षमा देखिएका छन् ।

नेपाल चिकित्सक संघ (एनएमए)का निवर्तमान अध्यक्ष डा. लोचन कार्कीका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रेक्टर बन्नु पनि फलामको च्यूरा सावित भयो । कांग्रेसनिकट चिकित्सकहरुमाझ प्रभावशाली छवि बनाएका उनका लागि रेक्टरको जिम्मेवारी पाउनु आफ्नै पार्टीको विभागीय मन्त्री भएका बेला गाह्रो विषय थिएन् । मन्त्री बस्नेतले गगन निकट भएकै कारण उनलाई रेक्टर नबनाउने अड्डी कसे । तर, अन्तिममा न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत र एनएमएको जोडबलमा उनले रेक्टरमा नियुक्ति पाए । ‘सुरुमा मन्त्रीले डा. लोचनलाई गगन निकट भएकाले रेक्टर बनाउन पनि आनाकानी गर्नुभएको हो,’ अर्का एक कांग्रेसनिकट चिकित्सक सुनाउँछन्, ‘तर, एनएनए र डा. भुपेन्द्रको जोडबलमा मात्रै रेक्टर बनाइयो ।’ रेक्टर पदमा नियुक्त भएपछि डा. लोचन पनि अहिले मन्त्री निकट पुगेको चर्चा गगन टिमभित्र चलेको छ ।

न्याम्सको डिनका लागि डा. सन्ध्या चापागाईको दावेदारी बलियो थियो । किनभने, नेपाल मेडिकल काउन्सिलकी सदस्यसमेत रहेकी डा. चापागाईलाई नियुक्त गर्दा समावेसी टिम बनाएको र महिलालाई पनि टिममा राखिएको सन्देश जान्थ्यो । तर, डा. सन्ध्या र उनका श्रीमान डा. सुवास आचार्य गगन निकट रहेकै र एमालेको पालामा अवसर लिएको भन्दैं उनको नाम पनि डिन बन्ने लिष्टबाट हटाइयो ।

नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारका लागि प्रबल दाबेर मानिएकी थिइन्—वीर अस्पतालकी नर्स रमिला चौलागाई । तर, रमिलाको नाम पनि गगनकै मान्छे भनेर काटियो । रमिलाको ठाउँमा माओवादी निकट शुक्ला खनाल नर्सिङ काउन्सिलको रजिष्ट्रार नियुक्त भइन् । जबकी मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका डडेल्धुरा अस्पतालका अध्यक्षको नियुक्तिलाई वाइपास गरेर कांग्रेसनिकटलाई नियुक्तिमाथि नियुक्ति दिएर अवैधानिक काम नै गरेका थिए । रोचक त के भने काउन्सिलमा उनले गगन निटकलाई रोक्नकै लागि माओवादी निकटलाई रोजे ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका प्रवक्ता गणेश आचार्यलाई उनको संगठनले मन्त्रीको सचिवालयका लागि सिफारिस गरेको थियो । त्यतिमात्र नभएर उनलाई सभापति देउवाका स्वकीय भानु देउवाले पनि सचिवालय राख्नका लागि मन्त्रीलाई सिफारिस गरिदिएका थिए । गगन स्वास्थ्यमन्त्री हुँदा अनुभवसमेत हासिल गरेकाले मन्त्रीलाई केही काममा सघाउन सकिन्छ भन्दैं आचार्यलाई उनको संगठनले पठाएको थियो । मन्त्री बस्नेतको सचिवालयमा उनले २१ दिनसम्म काम पनि गरे । तर, काज सरुवा नगरिदिएपछि उनी आफै वैधखानामै फिर्ता हुनुपर्‍यो । उनी फिर्ता हुनुपर्ने एउटा मात्रै कारण गगननिकट हुनु हो ।

यतिमात्र होइन्, मन्त्री बस्नेत गगन निकट भएकै कारण कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे सल्लाह सुझाव लिन पनि मन्त्री मन गर्दैनन् । उनीमात्रै नभएर गगन निकट मानिने संघका कुनै पनि व्यक्तिसँग मन्त्रीले स्पष्ट दूरी बनाएका छन् । ‘गगनप्रति उहाँको भयंकर ठूलो इगो रहेछ,’ कांग्रेस निकट अर्का एक कर्मचारी भन्छन्, ‘अब दिइने नियुक्ति जिम्मेवारीमा पनि यही रणनीति अपनाउने देखिन्छ ।

अहिले स्वास्थ्य मन्त्री बस्नेत उपसचिव कृष्ण थापाको भर बढी पर्ने गरेको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ । थापा परराष्ट्रमन्त्री एनपी साउँदका ज्वाइँ हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा गरेर ल्याइएका थापा प्रशासनतर्फका उपसचिव हुन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री थापा नेपाली कांग्रेसभित्र सभापति देउवाका कटु आलोचक हुन् । स्वास्थ्यमन्त्री बस्नेतले त्यही कारण पनि गगन र उनको समूहलाई मन्त्रालयमा टार्गेट बनाएर काम गरिरहेको गुनासो गगन निकटले गर्ने गरेका छन् । हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि स्वास्थ्यमन्त्री बस्नेतले गगनमाथि स्वास्थ्यमन्त्री भएर आफूले केही नगरेको भन्दैं आगो ओकल्दा छेउबाट सभापति देउवापत्नी आरजु राणा देउवा मुस्कुराइरहेको दृश्य अनौठो देखिन्थ्यो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ