२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी स्वास्थ्य संस्था उपचार गर्ने उपकरण माग्छन्, सरकार दिन सक्दैन्

सरकारी स्वास्थ्य संस्था उपचार गर्ने उपकरण माग्छन्, सरकार दिन सक्दैन्


काठमाडौं–आर्थिक वर्ष ०७९/८० मा विभिन्न ६८ वटा स्थानीय, प्रदेश तथा केन्द्रीय अस्पतालहरुले स्वास्थ्य सेवा विभागसँग १ सय ९ वटा १२ लिड इसीजी मेसिन माग गरे । मुटु रोग पत्ता लगाउन प्रयोग हुने सो मेसिन कुनै पनि अस्पतालले पाउन सकेनन् ।

त्यसैगरी, २३ वटा संस्थाले २५ वटा भिडियो एक्सरे माग गरेकोमा कुनैले पनि पाएनन् । मिर्गौला बिरामीको डायलाइसिस गर्नका लागि देशभरका ३४ वटा अस्पतालले १ सय ९९ वटा डायलाइसिस मेसिन माग गरेका थिए । तर, जम्मा ७ वटा संस्थाले ३० वटा मात्र पाए ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा एक वर्ष माग भएका अस्पताल उपकरणहरुको लिष्ट हेर्ने हो भने लामै देखिन्छ । तर, सरकारले आपूर्ति गरेको अवस्था हेर्ने हो भने नगन्य नै देखिन्छ । सरकारको प्राथमिकतामा परेको मातृ शिशु कार्यक्रमअन्तर्गतको डेलिभरी बेडसमेत मागअनुसार दिन सकेको छैन । ५२ संस्थाले १ सय ८३ बटा वेड माग गरेकोमा डडेल्धुराको पर्शुराम नगरपालिकाका स्वास्थ्य संस्थाका लागि १८ वटा वेड मात्र दिन सकेको छ ।

त्यसैगरी, ३१ स्वास्थ्य संस्थाले १३८ वटा नाक, कान, घाँटी उपचारका लागि चाहिने सेट माग गरेकोमा कसैलाई पनि उपलब्ध गराउन सकेन् । देशभरीका ९९ अस्पतालले १६ सय ५६ वेड माग गरेकोमा कुनै अस्पतालले पनि पाएनन् । भरतपुर अस्पतालले मात्र ४ सय वेड माग गरेको थियो ।

७ वटा स्वास्थ्य संस्थाले सिटी स्क्यान मेसिन माग गरेकोमा २ वटाले मात्र पाएका छन् । ४ वटा संस्थाले पिसिआर मेसिन, ८ वटा संस्थाले हाडजोर्नी अप्रेसनमा आवश्यक सीआर्म मेसिन माग गरेका थिए । कुनै पनि संस्थाले सो उपकरण पाउन सकेनन् ।

तर, कतिपय स्थानीय, प्रदेश र संघबाट संचालित अस्पतालहरुले आफैले व्यवस्थापन गर्न सक्ने सामान पनि केन्द्रकै भर परेको देखिन्छ । उदाहरणका लागि १५ वटा स्वास्थ्य संस्थाले १/२ वटा स्टेथेस्कोप पनि विभागमा माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ