२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्लिनिक वान अब ‘डेफ फ्रेण्डली’ क्लिनिक

क्लिनिक वान अब ‘डेफ फ्रेण्डली’ क्लिनिक


ललितपुर—जावलाखेलस्थित क्लिनिक वान अब डेफ फ्रेण्डली (सुनाइ सम्बन्धी अपांगता मैत्री) क्लिनिकका रुपमा सेवा दिन थालेको छ । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममाझ क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघले क्लिनिक वानबाट ‘डेफ फ्रेण्डली’ सेवा प्रवाह गर्ने सम्बन्धि सम्झौता गरेका छन् ।

सम्झौतामा क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेल र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघकी अध्यक्ष लक्ष्मी देवकोटाले हस्ताक्षर गरेका छन् । सहमतिपछि अब क्लिनिक वानमा दोभाषे व्यवस्था गरी सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिलाई स्वास्थ्य सेवा प्रवाह गरिनेछ ।

‘क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धमा सम्झौता भएको जानकारी गराउन चाहन्छौं,’ सम्झौताबारेको विज्ञप्तीमा क्लिनिक वानले भनेको छ, ‘यसबाट सुनाइ सम्बन्धि अपांगता भएका बिरामीहरुले दोभाषेमार्फत चिकित्सकसँग सही परामर्श लिन सक्नेछन् । जसबाट उनीहरुको उपचारमा निकै सहजता आउने र सही उपचार पाउने विश्वास हामीले लिएका छौं ।’ यससँगै क्लिनिक वानले संघको सिफारिस लिएर आएका सुनाइ सम्बन्धि अपांगता भएका बिरामीलाई सतप्रतिशत छुट दिनेछ । त्यसबाहेक अन्यलाई क्लिनिक वानका सेवाहरुमा ३५ प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, औषधि र खोपमा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौता कार्यक्रममा क्लिनिक वानका प्रबन्ध निर्देशक पौडेलले सन् २०१७ देखि नै आफूहरुले बहिरामैत्री सेवाको सुरुवात गरेको बताए । ‘तर, विविध समस्याका कारण हामीले निरन्तरता दिन सकेनौं,’ उनले भने, ‘सन् २०१७ मै हामीले श्रवण क्षमता नहुने अपांगता भएका व्यक्तिहरुलाई सतप्रतिशत निःशुल्क यो सेवा दिएका छौं ।’

उनले त्यतिबेला दोभाषे नहुँदा पनि त्यतिबेला संचार गर्न गाह्रो भएको उल्लेख गर्दै उनले दिगो रुपमा अगाडि बढाउन नसकेको बताए । ‘अब यसलाई दिगो रुपमा अगाडि बढाउनका लागि हामीले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघसँग यो सम्झौता गरेका हौं,’ उनले थपे, ‘अब यहाँहरु रिजनेबल र निःशुल्क सेवा लिन सक्नुहुनेछ ।’ उनले स्वास्थ्य सेवासँगै भिडियो बनाउने स्वास्थ्य सचेतना फैलाउने, जागिरको अवसरहरु सिर्जना गर्ने योजना पनि आफूहरुको रहेको उल्लेख गरे । उनले श्रवण क्षमता नभएकाहरुका लागि क्लिनिकले छुट्टै हटलाइनको व्यवस्था गरेकोसमेत जानकारी दिए ।

क्लिनिक वानको एक्सप्रटाइज प्रिभेन्टीभ हेल्थकेयरमा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय महिलाको क्यान्सरलगायतका अन्य विशिष्टीकृत सेवाहरुमा पनि काम गरिरहेको बताए ।

कार्यक्रममा सम्यक डाइग्नोष्टिकका अध्यक्ष एवं वरिष्ठ प्याथोलोजिष्ट डा. केयूर गौतमले क्लिनिक वान र संघको यो प्रयासप्रति खुसी व्यक्त गरे । ‘पाँच सेन्स हुँदा पनि कतिपय कुराहरु व्यक्त गर्न गाह्रो पर्छ, त्यसमा सेन्स नहुँदा झन कति अप्ठ्यारो पर्दो होला,’ उनले भने, ‘यो राम्रो र निकै सह्रानीय काम हो । यस्ता कुराले समाजसेवा गर्नेलाई प्रेरणा हो ।’ डा. गौतमले सम्यकले पनि यसमा सक्दो सहयोग गर्ने बताए ।

राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघकी अध्यक्ष लक्ष्मी देवकोटाले सम्झौताबाट आफूहरुलाई निकै खुसी लागेको बताइन् । ‘हामीले धेरै ठाउँमा हामी अस्पतालमा स्वास्थ्य सेवा लिन जाँदा पर्ने समस्या समाधान गर्न र सुनाइ सम्बन्धि समस्या भएका व्यक्तिमैत्री स्वास्थ्य सेवा बनाउन वकालत ग¥यौ । तर, कतैबाट सहयोग पाएनौं,’ उनले भनिन्, ‘कानुन छ तर त्यसको कार्यन्वयन छैन ।’ उनले सुनाइबारे अपांगता भएका व्यक्तिहरु दोभाषे नभएको अस्पतालमा जान समस्या हुने बताइन् ।

‘यसका कारण कतिपय साथीहरु रोग लिएर नै बस्छन्, रोग थपिदैं जान्छ,’ अध्यक्ष देवकोटाले थपिन्, ‘क्लिनिक वानमा दोभाषे राखेर उपचार सेवा सुरु गर्नु एकदमै खुुसीको कुरा हो ।’ उनले आफूहरुले सुनाइ सम्बन्धि अपांगता भएका व्यक्ति कहाँ यो कुरा पु¥याउन समूहहरु बनाएर संचार गर्ने बताइन् । ‘यो एकदमै उपलब्धिमूलक दिने हो,’ उनले भनिन्, ‘यो सेवामा आउने समस्या मिलेर समाधान गर्छौ ।’

क्लिनिक वानका प्रमुख कार्यकारी अधिकृत रघु राणाले अवसरहरु बढाउनका लागि पनि यो सम्झौता गरिएको बताए । ‘हामीले अपरचुनिटीहरु विल्ड गर्न पनि यो सुरु गरेका हौं,’ उनले भने ।

कार्यक्रममा डा. गौतमले आफ्नो पुस्तक ‘प्याथोलोजी मार्गदर्शन’ उपलस्थितहरुलाई निःशुल्क उपलब्ध गराएका थिए । ‘यो पुस्तक प्रयोगशाला परीक्षण सम्बन्धि कुराहरुमा केन्द्रीत छ । सरल भाषा लेखिएको पुस्तक तपाईंहरु सबैका लागि उपयोगी छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ