काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन भएको रकममध्ये चालुतर्फ ५५.८८ र पुँजीगतर्फ ७०.९३ प्रतिशतमात्र बजेट खर्च भएको छ ।
महालेखा परीक्षकको कार्यलयले चेक काट्ने दिएको अन्तिम दिनसम्म मन्त्रालयले बजेट खर्चमा समग्रमा कमजोर देखिएको छ । महालेखा परीक्षकको कार्यलयले यो आर्थिक वर्षका लागि भुक्तानीको अन्तिम मिति २४ असार राति १२ बजेसम्म तोकेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चालु आर्थिक वर्षका लागि ६४ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । जसमध्ये ३६ अर्ब ६६ करोड २९ लाख खर्च भएको छ ।
सरकारले छुट्याएको बजेटमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४८.६ प्रतिशत खर्च गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, शहीद गंगालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल सुरेश वाग्ले क्यान्सर स्मृति केन्द्र, विपी कोइराला लायन्स नेशनल अध्ययन केन्द्र, स्वास्थ्य विमा वोर्ड, स्वास्थ्य अनुसन्धान परिषद्, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० प्रतिशत बजेट नै खर्च गरेका छन् ।
यसैगरी, ९० प्रतिशतभन्दा बढी खर्च गर्नेहरुमा नेपाल नेत्रज्योति संघ, अन्य सबै प्रतिष्ठानहरु, स्वास्थ्य कर कोषबाट संचालित कार्यक्रम, परोपकार प्रसुति गृह र पशुपति होमियो चिकित्सालय तथा युनानी अस्पताल रहेका छन् ।
४० प्रतिशतभन्दा कम बजेट खर्च गर्नेमा नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम, कोभिड-१९ रोकथाम तथा नियन्त्रण कार्यक्रम, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम रहेका छन् ।
महालेखाले तोकेको २५ असारपछि खर्च हुने बजेट भने पहुँचका आधारमा रकमान्तर गरी पछि खर्च देखाउने गरी नीतिगत भ्रष्टाचार हुने गरेको छ ।