काठमाडौं—पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने २० हजार भायल एचपीभी खोप नेपाल आइपुगेको छ । मंगलबार २० हजार भायल एचपीभी खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए ।
‘१० हजार भायल एचपीभी खोप आज आइपुगेको छ,’ डा. चौरासियाले हेल्थआवाजसँग भने, ‘चीनबाट खोप आएको हो ।’ नेपाल सरकारले खरिद गरेको यो खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई डोज दिइनेछ ।
ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने यो रोगका कारण संसारभर वर्षेनी ३ लाख महिलाको ज्यान जाने गरेको तथ्यांक छ । एक नयाँ अध्ययनकाअनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।
गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारका ६ महिनाका उपलब्धिहरु सार्वजनिक गर्दै २० हजार भायल एचपीभी खोप प्राप्त हने प्रक्रियामा रहेको जनाएका थिए ।
उनले आफ्नो उपलब्धिमा वि.सं. २०८० जेठसम्म १ लाख २९ हजार ३ सय ५५ जनाको निःशुलक पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ गरिएको समेत उल्लेख गरेका छन् ।