२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : स्वास्थ्यमन्त्री

बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : स्वास्थ्यमन्त्री


काभ्रे—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाका लागि समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनुपर्ने बताएका छन् । बिहीबार धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले बालबालिकालाई क्यान्सरको उपचार सुनिश्चित गर्नु सामूहिक दायित्व भएको उल्लेख गरे ।

कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रेन्स रिसर्च हस्पिटलसँगको सहकार्यमा धुलिखेलमा आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ’ सम्बधित दुई दिने कार्यशाला समापनमा बोल्दैं उनले सो कुरा बताएका छन् ।

‘नेपालमा हरेक बालबालिकाका लागि समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामुहिक दायित्व हो,’ उनले भने, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्य पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’

कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाहअनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै भविष्यका चुनौती सामना गर्ने गरी योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए।

उनले क्यान्सरको संक्रमण देखिएका बालबालिका ठूलो संख्यामा उपचारमा नआएको तथ्यांकले देखाएकाले उनीहरुलाई उपचार ल्याउनुपर्ने र निको हुने दर बढाउने गरी काम गर्न विज्ञहरुलाई सुझाव दिए।

कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सयदेखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिएपनि त्यसको एक तिहाइमात्र उपचारमा आउने गरेकोले बाँकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनुपर्ने अहिलेको प्रमुख चुनौती भएको बताए । ‘वर्षमा १५ सयदेखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ,’ उनले भने, ‘तर, उपचारमा ५ सय मात्र आउँछन् । दुई तिहाइलाई पनि उपचारमा ल्याउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठन नेपाल, नसर्ने रोग एवं मानसिक रोगका टिम लिडर डा. ग्याम्पो दोर्जीले नेपालमा कति जना बालबालिकामा क्यान्सर छ भन्ने यकिन तथ्यांकको समेत अभाव भएकाले समस्या थपिएको बताए ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले कान्ति बाल अस्पतालसहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थामा बालबालिकाको क्यान्सरको उपचार भइरहेको जानकारी दिदैं सन् २०३० सम्म क्यान्सरको समस्या भएका ६० प्रतिशत बालबालिकालाई उपचारमा ल्याउन सक्नुपर्ने चुनौती रहेको बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ