काठमाडौं—नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबारे जनचेतना फैलिएकाले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेको विभिन्न तथ्यांकले देखाएको छ । सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने र धूम्रपान तथा सुर्तीजन्य पदार्थले फोक्सोको क्यान्सर हुन्छ भन्ने चेतावनीमूलक सन्देश र चित्र छाप्नुपर्ने उल्लेख गरिएको छ ।
सोही चित्रका कारण पनि कतिपयले सुर्तीजन्य पदार्थको सेवन नगरेको पाइएको छ । सरकारले यही ८ असारमा सार्वजनिक गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ मा विगतभन्दा सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको देखाइएको छ । सर्वेक्षणमा पुरुषको तुलनामा महिलामा सुर्तीजन्य पदार्थको सेवन एकदमै कम मात्रामा हुने गरेको देखिएको छ ।
सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष उमेरका २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । सोही स्वास्थ्य सर्वेक्षणअनुसार सन् २००१ मा सुर्तीजन्य पदार्थको सेवन गर्ने ४५ प्रतिशत पुरुष र २३ प्रतिशत महिला रहेका थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । १५ देखि ६९ वर्ष उमेर समूह ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
केही वर्षअघि नेपालमा ३० प्रतिशत (५१ दशमलव ९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका थिए । पहिलो पटक धूम्रपान सुरु गर्दाको औसत उमेर १७ दशमलव ८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुर्तीजन्य पदार्थ नियमन तथा स्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख डा. भक्त केसी सन् २०१९ र २०२२ मा सार्वजनिक भएको तथ्यांकले सुर्तीजन्य पदार्थको सेवनमा कमी आएको बताउँछन् । उनी सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने हानीका बारेमा मानिसमा आएको जनचेतनाका कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै गएको बताउँछन् ।
‘सुर्तीजन्य पदार्थले पार्ने असरबारे मानिसमा जनचेतना बढेको छ,’ उनले भने, ‘अनि मानिसले विस्तारै चुरोट, खैनी सेवन गर्न छाडे ।’
सरकारले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम तथा नियन्त्रणका लागि ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन–२०६८’, ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली–२०६८’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१’ ल्याएपछि सेवनमा गिरावट पाइएको हो । डा. केसी सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्न बनेका ऐन, नियमावली, निर्देशिका पनि कार्यान्वयन हुँदा सेवन घटेको बताउँछन् ।
सर्वेक्षण, २०२२ मा सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषमध्ये १७ प्रतिशतले दैनिक धुम्रपान गर्ने र ११ प्रतिशतले कहिलेकाही मात्र गर्ने गर्दछ । दैनिक चुरोट पिउने पुरुषमध्ये ५४ प्रतिशतले पाँच वटाभन्दा कम र २५ प्रतिशतले ५ देखि ९ वटा चुरोट र २१ प्रतिशतले १० वटाभन्दा बढी चुरोट पिउने गर्दछन् ।
सन् २०१५ मा एक्सन नेपालले गरेको अध्ययनमा पनि सुर्तीजन्य पदार्थको बट्टामा राखिएको चित्रका कारणले दैनिक ११ वटा खिल्ली खाने मानिसले ५ वटा खिल्ली चुरोट सेवन गर्ने गरेको उल्लेख गरिएको छ ।
कानुन कार्यान्वयनमा समस्या
तीनवटै कानून ल्याएपछि ती कानून प्रभावकारी कार्यान्वयन नहुँदा सरकारले भनेजस्तो सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण हुन नसकेको पाइएको छ । ऐनको दफा ४ मा सार्वजनिकस्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने उल्लेख छ । तर, अहिले पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीसेवन गरिरहेको पाइएको छ । चोक—चोकमा खुलेका चियापसलमा युवाहरूले चुरोट तानिरहेको देख्न सकिन्छ ।
सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा ‘कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन’ भन्ने उल्लेख गरिएको छ । तर, अहिले पनि निर्वाध रूपमा जो कोहीले पनि सजिलै चुरोट किन्ने गरेको पाइएको छ ।
सोही दफाको उपदफा ३ मा ‘कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयलगायतका सार्वजनिकस्थलबाट कम्तिमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन,’ र उपदफा ४ मा पनि ‘कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने’ उल्लेख गरिएको छ । तर, यसविपरीत मानिसले सुर्तीजन्य पदार्थको बिक्री वितरण निर्वाध रुपमा गरिएको पाइएको छ ।
नियावलीको नियम ७ मा पनि उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडी प्याकेट वा बट्टा तयार गर्नुपर्ने उल्लेख छ तर केही चुरोट उत्पादक कम्पनीले १० खिल्ली भएको बट्टा पनि उत्पादन गरी बेचिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासकसमेत रहेका डा. केसी सुर्तीजन्य पदार्थसँग सम्बन्धित निकायबीच समन्वय नहुँदा नियन्त्रणमा समस्या परेको बताउँछन् । उनी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय प्रशासन र स्थानीय निकायले कानून कार्यन्वयनमा फितलो देखिएकोले समस्या परेको बताउँछन् । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा अनुगमनको जिम्मा दिइएको भएपनि अनुगमन फितलो रहेको डा. केसीको भनाइ छ । उनी अन्य कानुनजस्तै सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रण गर्न बनेका कानून प्रभावकारी कार्यान्वयन गर्ने हो भने नियन्त्रण गर्न सकिने बताउँछन् ।
ऐनको दफा १७ सजायसम्बन्धी व्यवस्थाको उपदफामा (१) मा धुम्रपान वा सुर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक—पटक धुम्रपान वा सूर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नुपर्ने उल्लेख गरिएको छ । तर, उक्त सजायको कार्यान्वयनसमेत फितलो रहेको पाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गरेको बताउँछन् । उनी देशभरि नै प्रहरीले सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीबारे सचेतना फैलाइरहेको बताउँछन् । कानुनले सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारबाहीको अधिकार नदिएको हुनाले कारवाही गर्न समस्या परेको बताउँदैं कडायत भन्छन्, ‘कानुनले ठ्याक्कै मुद्दा चलाउने ठाउँ दिएको छैन । त्यसैले सामान्य खालका कारवाही गरेर छाड्ने गरेको छौँ ।’
नेपालमा वर्षेनी २७ हजार १३७ जनाको सुर्तीजन्य पदार्थको सेवनले मृत्यु हुने गरेको छ, जुन नेपालमा वार्षिक मृत्युको करिब १५ प्रतिशत हो । यस्तै, नेपालमा बर्षेनी सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करिब रु ४७ अर्ब क्षति हुने गरेको छ ।
—राससबाट