काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पदाधिकारी नियुक्तिमा वाइपास गरिएपछि महिला चिकित्सक र नर्सिङ अधिकारी महिलाहरु असन्तुष्ट बनेका छन् । बिहीबार नियुक्तपत्र बुझेलगतै न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले पदाधिकारीहरु नियुक्तिका लागि सिफारिस गरेका थिए ।
डा. बस्नेतको सिफारिसअनुसार बेलुका नै न्याम्सका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हतारमा उनको सिफारिस सदर गरेर पदाधिकारी नियुक्त गरिदिए । जसमा रेक्टरमा डा. लोचन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगाना नियुक्त भएका छन् ।
उपकुलपतिसहित ४ जना पदाधिकारी नियुक्तिमा एकजना पनि महिला नपरेपछि न्याम्सभित्र र न्याम्स बाहिरका महिला चिकित्सक, नर्सिङ अधिकारी महिलाहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । न्याम्समा डेन्टलमा प्रा.डा. शैली प्रधान गाइनोमा प्रा.डा. मीना झा, पेडियाट्रिकमा प्रा.डा. कल्पना सुवेदी, डेन्टलमा प्रा.डा बन्दना खनाल पाँच प्राध्यापक छन् ।
कान्ति, प्रसुति, वीर, ट्रमा गरी १२ जना महिला एशोसिएयट प्रोफेसर छन् । उनीहरु सबैको न्याम्सको पदाधिकारीका लागि योग्यता पुग्छ । अझ वीरमै ९ जना ११ औं तहका अब्बल महिला चिकित्सकहरु नै कार्यरत छन् भने कान्ति, प्रसुतिसमेत जोड्ने यो भने यो संख्या दुई दर्जन बढी हुन जान्छ । नर्सिङतर्फ ११ औं तहका महिला अधिकारीहरु जोड्ने हो भने जनशक्ति अझै धेरै हुन जान्छ । यत्रो ठूलो क्षमतावान जनशक्तिलाई वाइपास गरेर मन्त्री र उपकुलपति बस्नेतद्वयले असमान निर्णय गरेका हुन् ।
क्षमतावान, योग्यता पुगेका र कामप्रति लगाव भएका महिला चिकित्सक र नर्सिङ अधिकारीलको प्रतिनिधित्व नगराएर बिहीबार नियुक्त गरिएका सबै पदाधिकारी पुरुष नै छन्, त्यसबाहेक यसअघि नियुक्त भएका वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल पनि पुरुष नै हुन् ।
न्याम्सकी पूर्व रजिष्ट्रार प्रा. प्रमिला देवानले न्याम्सको पदाधिकारीमा ‘समावेसी टिम’ बन्न नसकेको बताइन् । ‘समावेसी प्रकारले एक महिला त आउनुपथ्र्यो तर आएनन्,’ न्याम्सको पहिलो पदाधिकारीसमेत रहेकी देवानले भनिन्, ‘चाहे नर्स वा चाहे डाक्टरको तर्फबाट पदाधिकारी हुन्छ होला भन्ने आशा गरेका थियौं । तर, त्यसो हुन सकेन । महिला सशक्तीकरण कुरा गर्ने र ३३ प्रतिशत संसदमा प्रतिनिधित्व रहेको अवस्थामा चिकित्सक महिलाबाट प्रतिनिधित्व हुँदा राम्रो सन्देश जान्थ्यो ।’
प्रा. देवानले आफूलाई नियुक्त गर्दा पनि नर्सलाई रजिष्ट्रार बनाइयो भन्दैं बदख्याइँ गरिएको भन्दैं गुनासो समेत पोखिन् । ‘म एघारौं तहको प्रोफेसर थिए । तर, पनि मेरो विरोध गरियो । त्यो बेला न्याम्समा मधेशी र महिला, नर्सिङ र जनजातिबाट प्रतिनिधित्व गर्ने थिए,’ उनले भनिन्, ‘टिम समावेसी थियो ।’
त्रिवि शिक्षण अस्पतालकी ग्यास्ट्रो सर्जरी विभागकी प्रमुख प्रा.डा. पलेशवान जोशी लाखे भिसी नबनाएपनि पदाधिकारीका अन्य पोष्टमा एक महिलालाई दिएको भए राम्रो हुने बताउँछिन् । ‘हामीसँग मेडिकल शिक्षामा नेतृत्व लिने महिलाको अभाव नै भएको हो त ?,’ डा. जोशीले प्रश्न गरेकी छन्, ‘यो लैङगिक विभेद् वा लैङ्गिक असमानताको नमुना त होइन ।’
पाटन र राप्तीकी पूर्व उपकुलपति रहिसकेकी प्रा.डा. संगीता भण्डारी ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कतै पनि महिलाहरुलाई पदाधिकारीमा स्थान नदिएको भन्दैं असन्तुष्टि व्यक्त गर्छिन् । ‘प्रत्येक प्रतिष्ठानमा ५ वटा पदाधिकारीहरु हुन्छन्, ७ वटा प्रतिष्ठान छन् । अहिलेको अवस्थामा महिलाको सहभागिता निलकै अवस्था छ,’ उनले भनिन्, ‘न्याम्स, पाटन, विपी, राप्ती, कर्णाली, पोखरा, महेन्द्रनारायण निधी कसैमा पदाधिकारीमा महिला छैनन् ।’
हाल संचालित विपी प्रतिष्ठानमा उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक चार जना पदाधिकारी नै पुरुष रहेका छन् । गजेन्द्रनारायण निधी प्रतिष्ठानको भने पदाधिकारी खाका आइसकेको छैन । न्याम्समा सबै पदाधिकारी पुरुष छन् भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक सबै पुरुष नै छन् ।
यस्तै, पोखरामा उपकुलपति डिन र निर्देशक तीन जना पदाधिकारी रहेकोमा त्यहाँ पनि तीनै जना पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, रेक्टर, डिन, निर्देशक सबै पुरुष नै छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, रेक्टर, निर्देशक, डिन सबै पदाधिकारी पुरुष नै रहेका छन् । मेडिकल र एकेडेमिक फिल्डमा क्वालिफाइड महिलाहरु आइरहेका भएपनि उनीहरु राजनीतिक नियुक्तिमा भने योग्यता, क्षमताअनुसार जिम्मेवारी पाउन सकिरहेका छैनन् ।