२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयोग शारीरिक अभ्यासमात्र नभएर वैज्ञानिक जीवनशैली हो : प्रधानमन्त्री

योग शारीरिक अभ्यासमात्र नभएर वैज्ञानिक जीवनशैली हो : प्रधानमन्त्री

नेपालमा योग पर्यटनको विकास गर्न सकिने भनाइ


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले योग शारीरिक अभ्यास मात्रै नभएर जीवनशैली एवं जीवन पद्धती भएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै दाहालले स्वस्थकर जीवनयापनका लागि योगले सहयोग पु¥याउने बताए ।

‘योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो,’ उनले भने, ‘स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउँछ ।’

दाहालले शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग भएको उल्लेख गर्दै नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउने लगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यसक्षेत्रका अनुभवी व्यक्तिहरूको ज्ञान र अनुभवबाट सिक्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले योग गुरूहरू र अध्येताहरूले बताएअनुसार नेपाल योगको भूमि भएको बताउँदैं यो योग धरोहरका रुपमा रहेको उल्लेख गरे। ‘त्यसैले योग नेपालकै अमूल्य निधि पनि हो । प्राकृतिक वातावरणको हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासका लागि एउटा सुन्दर भूमी हो र यो देश योग सम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्छ,’ उनले भने, ‘हामीले परिकल्पना गरेको योग माया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ ।’

योग र ध्यानका अभ्यासहरू व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनस्र्थापनाका लागि महत्वपूर्ण योगदान गर्ने भएकोले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ताहरू र योग गुरूहरूको अहम् भूमिका हुने उनले बताए ।

‘अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा योग सम्वन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा हामीले पर्याप्त ध्यान दिनुपर्दछ र व्यवस्थित ढङ्गले काम गर्नुपर्दछ । यसबाट नेपालमा योग पर्यटनको विकास गर्न सकिन्छ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ