वीरेन्द्रनगर–कालिकोटको रास्कोट नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब पाउन सकेका छैनन् । रास्कोट नगरपालिकाका कार्यरत १५ जना स्थायी स्वास्थ्यकर्मीले एक वर्षदेखिको तलब पाउन सकेका छैनन् ।
३ महिलासहित १५ जना स्थायी स्वास्थ्यकर्मी दरबन्दी मिलान र समायोजनबाट रास्कोट आएर काम गरिरहेको भएपनि १२ महिनादेखि तलब भत्ता नपाएकोले धर्नामा बस्नु परेको जनस्वास्थ्य निरीक्षक देवेन्द्र शाहीले बताए । ‘हामीले तलब भत्ता नपाएको १२ महिना पुग्यो,’ उनले भने, ‘बाँच्नै मुस्किल भएकाले बाध्यताले धर्नामा बस्नुपर्ने भयो ।’
एक जनस्वास्थ्य निरीक्षक, ४ सिनियर अहेब र १० जना अहेब रहेका छन् । दरबन्दी मिलान र समायोजनामा दरबन्दीभन्दा बढी स्थायी स्वास्थ्यकर्मी नगरपालिकामा आएकाले स्वास्थ्य मन्त्रालयबाट तलब नआएको रास्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हंशराज बरालले बताए ।
‘नगरपालिकामा १८ जनाको मात्र स्थायी दरबन्दी हो,’ उनले भने, ‘१५ जना जिल्ला बाहिरबाट समायोजनको प्रक्रियाबाट आएकाले तलबभत्ता आएन ।’
रास्कोट नगरपालिकामा दरबन्दी र करारका गरी ७५ जना स्वास्थ्यकर्मी छन् । करारका कर्मचारीलाई नगरपालिकाले तलब खुवाइरहेको भएपनि दरबन्दीका स्थायी कर्मचारीको तलब मन्त्रालयबाट आउने भएकाले केही समस्या आएको नगर उपप्रमुख मनिराज बरालले बताए ।
तलब नपाएको विषयमा स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्दै आइरहेका छन् ।