२४ करोड बजेट छुट्याएर ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’को अव्यवहारिक नारा लगायोः डा. कार्की
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रा.डा. चन्दा कार्कीले २४ करोड बजेट छुट्याएर सरकारले एक स्वास्थ्य संस्था एक चिकित्सकको अव्यवहारिक नारा लगाएको बताएकी छन् । आइतबार संसदमा बोल्दैं उनले यसले स्वास्थ्यकर्मीमा नैराश्यता छाउनुका साथै विदेशिने बाटो अझै खुला गरिदिएको उल्लेख गरिन् ।
‘यो बजेटले जम्मा २४ करोड छुट्याएर एक स्वास्थ्य संस्था एक चिकित्सक अव्यवहारिक नारा लगाएको छ । यसले स्वास्थ्यकर्मीमा ठूलो नैराश्यता छाएको छ,’ डा. कार्कीले भनिन्, ‘उनीहरुलाई विदेशिने बाटो अझै खुला गरिदिएको छ । एउटा स्वास्थ्यकर्मी पेशाको महत्व, जिम्मेवारी, उसको समर्पण र सेवाभावलाई यसले नकारेको देखिन्छ ।’
उनले समय र स्वास्थ्य अनमोल सम्पत्ति भएको उल्लेख गर्दै यसलाई बेलैमा चिन्नु र बुझ्नु आवश्यक रहेको बताइन् । ‘तर, हामीले यो कुरा नबुझेर स्वास्थ्य क्षेत्रमा क्रमसः लगानी कुल बजेटको १० प्रतिशत पु¥याउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेकोमा सरकारले यस वर्षको बजेटमा २०.२० प्रतिशतले बजेट कटौती गरेको छ,’ उनले भनिन् ।
स्वास्थ्य जस्तो महत्वपूर्ण कुरामा बजेट घटाउनु ठूलो गैरजिम्मेवारीपन भएको उल्लेख गर्दै उनले वर्तमान स्वास्थ्यको बजेट आजसम्मको इतिहासकै न्यून बजेट भएको दावी गरिन् । ‘यसका कारण स्वास्थ्यमा नयाँ बजेट आउनु त परै जाओस् । पूरानै कार्यक्रमलाई पनि निरन्तरता दिनु मुस्किल देखिन्छ, डा. कार्कीले भनिन् ।
उनले बजेट संशोधन नगरिए उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगहरुबाट जनतालाई बचाउने कार्यक्रम बन्द हुने बताउँदैं बढ्दैं गएको संक्रामक रोग नियन्त्रण कार्यक्रम, मातृ शिशु कार्यक्रम, नवजात शिशु कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन नसकिने बताइन् । ‘स्वास्थ्यको प्रिभेन्टीभ कार्यक्रम कसरी चल्छन् ?’ उनको प्रश्न थियो, ‘आजको डरलाग्दो, बिग्रदो मानसिक स्वास्थ्यलाई कसरी सम्हाल्ने हो । दैनिक १९ जनाभन्दा बढीको ज्यान जाने गरेको हामीलाई थाहा छ । यही संसदको अगाडि प्रेम आचार्यले आत्मदाह गरेको दृश्य हाम्रा आँखा अगाडि ताजै छ ।’
उनले बजेटलाई पुनर्विचार नगरिएमा स्वास्थ्य क्षेत्रमा हालसम्म प्राप्त गरिएका उपलब्धि पनि गुम्ने र राज्यले सन् २०३० सम्म पूरा गर्छु भनेर लक्ष्य लिएका हासिल गर्न पनि गाह्रो पर्ने बताइन् । ‘सम्भावित महामारी र विपद्सँग लड्न, हरेक नागरिकसम्म उच्चस्तरीय स्वास्थ्य सेवा पु¥याउन, नयाँ प्रविधीको विकास गर्न, अनुसन्धानलाई प्रोत्साहन गर्न बजेटले सोच्नैपर्ने आवश्यकता छ,’ डा. कार्कीले भनिन् ।
उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने र त्यसमा भइरहेको भ्रष्टाचारमाथि छानविन गर्नुपर्नेमा समेत जोड दिइन् । ‘स्वास्थ्य बिमालाई एकातिर बढी प्रभावकारी, व्यवहारिक र स्वीकार्य बनाउन जरुरी छ भने अर्कोतिर स्वास्थ्यमा बिमा भइरहेको करोडौंको अनियमितता र भ्रष्टाचारको जरो उखेल्ने काम हुनु पनि त्यतिकै जरुरी देखिन्छ,’ उनले भनिन् ।
धेरै पढिएका
- १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर
- २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’
- ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट
- ४ योग के हो ? यसका प्रकार र फाइदा
- ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा
- ६ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने
- ७ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?
तपाईको प्रतिक्रिया दिनुहोस