काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री बस्नेतले एक हप्ताभित्र बिरामीहरुले महसुस हुने गरी सुधार भएको देखिने बताए ।
विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर काठमाडौं आएलगतै वीर अस्पताल पुगेका उनले त्यहाँको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनुपर्नेमा जोड दिए । ‘वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ,’ उनले भने ।
वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाइ छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति डा. भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसीयु, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालयलगायत महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए ।
सो क्रममा उनले टिकट काउण्टरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यसैगरीअस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।