काठमाडौं—काठमाडौं महानरपालिकाका मेयर बालेन शाहले महानगरपालिका भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गको निःशुल्क उपचार गरेको विवरण १० गतेभित्र महानगरपालिकालाई उपलब्ध गराउन निर्देशन दिएका छन् । आइतबार उनले लक्षित वर्गले निःशुल्क सेवा लिएको विवरण १० गतेभित्र महानगरमा नबुझाए कारवाही गर्ने बताएका छन् ।
मेयर शाहले पहिलो निर्देशन अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, दोस्रो सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, तेस्रो स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र चौथो अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन भनेका छन् । साथै, उनले पाँचौ निर्देशनका रुपमा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, छैटौं अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, सातौं अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउनसमेत निर्देशन दिएका छन् ।
स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को परिच्छेद २४ दफा ७ (घ) बमोजिम विपन्न, असहाय, वेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याएर निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (४) खमा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई दिइएको छ । मेयर शाहले यही व्यवस्थालाई टेकेर महानगरपालिकाभित्रका अस्पतालहरुलाई माथि उल्लेखित ७ बुँदे निर्देशन दिएका हुन् ।
‘अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ,’ बालेनले भनेका छन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था छन् ।