२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थान र जनशक्ति नभएरै उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने

स्थान र जनशक्ति नभएरै उपकरण खरिद गर्ने अस्पताललाई स्पष्टीकरण सोधिने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्थान र जनशक्ति नभएर उपकरण खरिद गरेका अस्पताललाई स्पष्टीकरण सोधिने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू मन्त्री भएलगतै अनुगमनको काम सुरु गरेको बताउँदैं जथाभावी खरिद गरेर उपकरण थन्काउने अस्पताललाई कारवाही गर्ने संकेत गरेका हुन् ।

दुई वर्षसम्म प्रयोग नभएका वा हुन नसक्ने उपकरण सबै विभागले फिर्ता लिएर आवश्यकताअनुसार अरु अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्ने जानकारी मन्त्री बस्नेतले दिए । कतिपय अस्पतालमा खरिद आवश्यकताभन्दा बढी गरेको उल्लेख गर्दै उनले अब खरिद गर्दा न्यूनतम सेवा मापदण्डअनुसार खरिद गर्नुपर्ने नियम लागु गर्ने दावी गरे ।

मन्त्री बस्नेतले प्रत्येक अस्पताललाई दुई वर्षको कार्ययोजना बनाएर पेश गर्न लगाइने र सोहीअनुसार आवश्यक उपकरण मात्रै खरिद गरिने बताए । ‘जथाभावी खरिद गरेर बेवारिसे बनाएर नराख्ने व्यवस्था गरिनेछ,’ उनले भने, ‘स्वास्थ्य सेवा विभागलाई खरिद र वितरण प्रक्रिया थप व्यवस्थित गर्न निर्देशन दिइनेछ ।’ उनले सबै संघीय अस्पतालको उपकरण जाँच गर्ने, भएका उपकरण नचलाएर नयाँ खरिद किनिएको भन्ने सुन्न आएकाले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गरिने उनको भनाइ थियो ।

केन्द्रीय अस्पतालमा ओपीडी टिकट अनलाइन गर्ने र १५ दिनभित्र अनलाइन टिकट काट्ने व्यवस्था मिलाइने उनको भनाइ थियो । प्रादेशिक अस्पतालमा सोही व्यवस्था गर्न प्रादेशिक अस्पताल हेर्ने प्रदेशका मन्त्रालयलाई आग्रह गर्ने उनले बताए । सबै अस्पतालमा जनरल वेड, आईसीयु वेड, भर्ना र रिक्त संख्या आफ्नो वेवसाइटमा दैनिक रुपमा राख्ने व्यवस्था ७ दिनभित्र मिलाउने निर्देशन दिइने उनले जानकारी दिए ।

साथै, मन्त्री बस्नेतले सबै संघीय अस्पतालका कर्मचारीहरुको विवरण अद्यावधि गर्न मन्त्रालयको प्रशासन शाखालाई निर्देशन दिएका छन् । ‘काजमा ८ सय बढी कर्मचारी छन्, दरबन्दीका कर्मचारी एकातिर रहेको अवस्था छ,’ उनले भने, ‘सिफारिसका भरमा आफ्ना मान्छेलाई सुविधा दिने गरी तलब खुवाएर राखेकाले त्यसलाई व्यवस्थित गरिनेछ ।’

दुई वर्षभित्र विभागले खरिद गरेका वा अनुदान पाएका स्वास्थ्य सामाग्री र उपकरणको विवरण ७ दिन भित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको उनले जानकारी दिए । खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न यो व्यवस्था गर्न लागिएको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले विदेश भ्रमणलाई पनि आफूले व्यवस्थित गरेर लैजाने बताए । ‘मन्त्रालयमा देखिएको अर्को रोग विदेश भ्रमण पनि हो । वैदेशिक भ्रमणलाई वैज्ञानिक रुपमा व्यवस्थित गर्न चालु आर्थिक वर्षदेखि विदेश भ्रमणका गएका कर्मचारी नामावली, सहयोगी निकाय र भ्रमणबाट भएका उपलब्धिको विवरण हामी ७ दिनभित्र लिदैछौं,’ उनले भने, ‘चलखेलका आधारमा हुने विदेश भ्रमणलाई अन्त्य गरिनेछ ।’

उनले विदेश जान गैरसरकारी संस्थाहरुलाई कुहारिने र उनीहरुका अनुचित लाभहरु पूरा गर्ने गरिएको तर्फ पनि संकेत गरे । ‘विदेश भ्रमणमा आईएनजिओ र एनजिओबाट जाने र उनीहरुका काम प्रभावमा परेर गर्ने गरेको देखियो,’ उनले भने, ‘उनीहरुबाटै सहयोग नै लिन नपरेपछि उनीहरुसँग प्रभावित हुने भएन ।’ उनले विदेश भ्रमणको औचित्य बिना स्वीकृत नहुने उनले बताए ।

आफूले राति ११ बजेसम्म सचिवहरु समेतलाई राखेर काम गरिरहेको बताउँदैं उनले आफू सकेसम्म काम गर्ने बेलामा जेनेभा जान नचाहेको बताए । ‘डब्लूएचओको कन्ट्री डाइरेक्टर र एउटा चुनावका लागि मत माग्नका लागि जानुपर्ने अवस्था आयो,’ उनले भने । नेपालले डब्लूएचको क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिएकाले त्यसका लबिइङ गर्ने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ