काठमाडौं—हरिसिद्धीस्थित १०० शैय्याको नेपाल क्यान्सर अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा कपिल गौतम नियुक्त भएका छन् । १३ बैशाखमा नेपाल क्यान्सर अस्पताल व्यवस्थापनले गौतमलाई दुई वर्षका लागि अस्पतालको सिईओमा नियुक्त गरेको हो ।
६०० भन्दा बढी कर्मचारी नेतृत्व गर्न लागेका ४६ वर्षीय गौतम इन्जिनियरिङ पृष्ठभूमीका हुन् । उनीसँग अस्पताल व्यवस्थापनमा काम गरेको लामो अनुभव छ । गौतम त्यसअघि सिल्भर लाइन हस्पिटलको सिईओ थिए ।
नेपालगन्ज मेडिकल कलेजबाट जागिरे जीवन सुरु गरेका उनले त्यहाँ तीन वर्ष बायोमेडिकल इन्जिनियरका रुपमा काम गरेका थिए । त्यसपछि सन् २००५ मा बायोमेडिकल इन्जिनियरका रुपमा नर्भिक अस्पताल प्रवेश गरे । त्यसपछि डिजियम भएर हेड अफ द अप्रेशनका रुपमा उनले काम गरे । सन् २०२२ मा नर्भिक छाड्नुपूर्व उनी जनरल म्यानेजरका रुपमा कार्यरत थिए ।
एक हप्ताअघि नेपाल क्यान्सर अस्पतालको सिईओ नियुक्त भएका उनले आफू अस्पतालको सेवा प्रभावकारी र गुणस्तरीय बनाउन लागि पर्ने बताए । ‘वास्तवमा मेरो मोर एक्सपोटिज हेल्थकेयर सेन्टरमा नेपालकै पहिलो सिक्स सिग्मा ब्ल्याक बेल्ट पनि हो,’ उनले भने । गौतमले भारतबाट आईएसओ ९००१ लिड अडिटर सम्बन्धी कोर्स पनि गरेका छन् । उनले हेल्थ म्यानेजमेन्ट कोर्सहरुमा विभिन्न तालिम तथा फेलोसीपहरु पनि गरेका छन् ।
‘पुरानो हस्पिटलमा डाक्टर ड्रिभेन सिस्टम हुन्छ भन्ने एउटा सोच थियो । अहिलेको परिस्थितीमा जति पनि कर्पोरेट हस्पिटलहरु छन् । ती म्यानेजमेन्ट ड्रिभन हेल्थ, हेल्थकेयर मयानेमेन्ट भएका र हस्पिटल म्यानेजमेन्ट पढेको मान्छेहरुले धेरै राम्रोसँग काम गरिरहेका हस्पिटल छन्,’ उनले भने । यो जापनिज म्यानेजमेन्ट सिष्टममा ओभर प्रोटेक्सन, करेक्सन, मोसन, ट्रान्सप्यारेन्स, ओभर प्रोसेसिङ, वेयभिङ, नलेजलगायतका कुराहरु समेटिने उनले बताए । ‘यो सात वटा फ्याक्टरहरुलाई कसरी म्यानेज गरेर चुस्त दुरुस्त बनाउन सकिन्छ, त्यसमा मैले विशेष ध्यान दिनेछु,’ उनले भने ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्पतालमा बिरामी पसेपछि २० मिनेटभन्दा बढी कुर्नु नपर्ने, इमर्जेन्सीमा ३ मिनेटमा उपचार दिइसक्नुपर्नेजस्ता कुराहरुलाई आफूले लागु गर्न प्रयास गर्ने उनले सुनाए । ‘त्यहाँ गएपछि त म सुरक्षित रुपमा आफ्नो उपचार गर्न सक्छु भन्ने किसिमको वातावरण सिर्जना गर्ने मेरो योजना छ,’ उनले भने ।
गौतमले इन्जिनियरिङको विद्यार्थी व्यवस्थापनमा कसरी भन्ने प्रश्नको उत्तरमा भने, ‘संसारका जति पनि टप म्यानेजमेन्टहरु छन्, ती सबै इन्जिनियरिङ नै छन् । यो टेक्निकल र म्यानेजमेन्टको फ्युजन हो । फ्युजनले झन राम्रो नतिजा दिन्छ ।’ उनले सन् २०१० पछि आफू पूर्णतयाः हस्पिटल व्यवस्थापनमा सक्रिय रहेको उल्लेख गरे । २१ वर्षको जागिरे जीवनमध्ये १३ वर्ष व्यवस्थापन तहमा बिताएका उनी संस्थाहरुमा ‘म्यान’ व्यवस्थापन सबैभन्दा महत्वपूर्ण ठान्छन् । ‘प्रशासन भनेको हाम्रो कन्टेक्समा कस्तो छ भने पेलेर जाने, दबाएर जाने भन्ने छ । त्यो सिस्टम त अहिले फेल भइसक्यो,’ उनले भने, ‘अब प्रणालीलाई व्यवस्थित गर्ने कामले मात्रै सेवा र संस्थाको प्रगति हुन्छ ।’
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उनले पोखरा विश्वविद्यालयबाट हेल्थकेयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् ।