काठमाडौं—पाटन अस्पतालका चिकित्सकहरुले तीन दिनका नवजात शिशुको शरीरमा देखिएको ट्युमरको जटिल शल्यक्रिया गरेका छन् । २१ बैशाखमा अस्पतालका चिकित्सकहरुले नवजात शिशुको शरीरको कम्मरमुनिको भागमा रहेको १२ सय ग्रामको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको जटिल शल्यक्रिया गरेका हुन् ।
१८ बैशाखमा जन्मिएका ती शिशुको जटिल शल्यक्रिया सफल भएको कन्सल्ट्यान्ट न्यूरोसर्जन डा. रुपेशजंग राउतले जानकारी दिए । ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको जटिल शल्यक्रिया गरेका छौं,’ डा. राउतले हेल्थआवाजसँग भने, ‘अहिले शिशुको अवस्था सामान्य छ ।’
डा. राउतकाअनुसार झ्वाट्ट हेर्दा नवजात शिशुको कम्मर तल अर्को बच्चाको हातखुट्टा, यौनांग र पानीको थैलीलगायतका अंगहरु बनेजस्तो देखिन्थ्यो । ‘त्यसलाई हामीले छुट्याएर फाल्यौं, यो रियर किसिमको शल्यक्रिया हो,’ उनले थपे, ‘नसाहरुसँग जोडिएको यो शल्यक्रिया जटिल मानिन्छ ।’
चिकित्सकहरुकाअनुसार ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमर यही कारणले हुन्छ भनेर ठोकुवा गर्न सकिदैंन् । तर, यसबारे केही सिद्धान्तहरु चाहिँ अगाडि आएको डा. राउत बताउँछन् । ‘जब बच्चा भ्रुण अवस्थामा हुन्छ, त्यतिबेला एक ठाउँमा गएर बन्नुपर्ने सेल अरु—अरु ठाउँमा गएर अस्वभाविक तरिकाले वृद्धि भएमा यो समस्या आउने हो,’ उनी भन्छन्, ‘तर, यही कारणले नै हो भनेर ठोकुवा गर्न सकिदैंन् ।’
उनकाअनुसार ‘स्याक्रिफिसियल टेरोटोमा’ र ‘पारासिटिक ट्वीन्स’ अवस्थामा पनि यस्तो समस्या देखिन सक्छ । तर, त्यो अवस्थामा भने एउटा अर्को डेड बढी शरीरमा टाँसिएको हुन्छ । ‘यसभन्दा भिन्न त्यसमा मेरुदण्ड बनेको हुन्छ । तर, यसमा त्यो चाहिँ हुँदैन् । त्यही भएर हामी यसलाई ‘स्याक्रिफिसियल टेरोटोमा’ ट्युमर प्रजातिमा राख्छौं,’ उनी थप्छन्, ‘यसमा रगतको सप्लाई अत्यन्तै धेरै हुन्छ । त्यही भएर सर्जरी गर्ने टाइममा पनि अलिकति रक्तस्राव बढी हुने हो कि भन्ने चिन्ता हामीलाई थियो ।’
यो सर्जरीमा मुटुमा समस्या आउन सक्ने, शरीर सुन्निन सक्ने र कतिपय अवस्थामा बच्चाको ज्यान नै जान सक्ने सम्भावना हुने भएकोले पनि यो सर्जरी बढी जटिल मानिन्छ । ‘तर, भाग्यबस सबै राम्रो भयो,’ यी युवा सर्जनले सुनिए, ‘त्यो सबै भएन । अहिले शिशु राम्रो अवस्थामा छ ।’
यो जटिल शल्यक्रिया अस्पतालको न्यूरो सर्जरी विभागका प्रमुख प्रा.डा. प्रकाश विष्टको नेतृत्वमा भएको थियो । शल्यक्रियामा कन्सल्ट्यान्ट न्यूरो सर्जनद्वय डा. राउत र डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयास चन्द, एनेस्थेसियामा डा. मानबहादुर चन्द, डा. अनिल, डा. अभिशेष र डा. रोशनलगायतको टोली संलग्न रहेको थियो ।
सेकेन्ड ट्राइमेस्टर थाहा भएको थियो ट्युमर
३५ वर्षकी गर्भवती महिला पाटन अस्पतालमा नियमित फ्लोअपमा थिइन् । त्यही क्रममा २८ हप्ताको अवधिमा अल्ट्रासाउण्ड गर्दा बच्चाको ट्युमर पत्ता लागेको थियो । सेकेन्ड ट्राइमेस्टरमा आएर अल्ट्रासाउण्ड गर्दा बच्चामा समस्या देखिएपछि पाटन अस्पतालको न्यूरो सर्जरी विभागका चिकित्सकहरुसँग सल्लाह लिइयो ।
न्यूरो सर्जरी विभागका चिकित्सकहरुले अल्ट्रासाउण्डमा ट्युमर देख्ने बित्तिकै एमआरआई गराएर हेरे । गर्भावस्थामा केही गर्न नसकिने निष्कर्षका साथ डेलिभरी भएपछि अवस्था हेरेर सर्जरी गर्ने निर्णयमा न्यूरो टिम पुग्यो ।
गर्भवती महिलाले १८ बैशाखमा गाइनो तथा पेडियाट्रिक विभागका चिकित्सकहरुको संयुक्त पहलमा सिजेरियन सेक्सनबाट नवजात शिशुको जन्माइन् । कम्मरमुनि ‘फेटिफर्म स्याक्रोकोविसजियल टेराटोमा’ नामक ट्युमरसहित बच्चा जन्मिएका थिए । १८ देखि २० बैशाखसम्म चिकित्सकहरुले शल्यक्रियाका लागि आवश्यक चेकअप अगाडि बढाए । ‘बच्चाको एमआरआई गर्यौ, मुटुको अवस्था, रगतको अवस्था चेकअप गर्यौं,’ डा. राउत भन्छन्, ‘रगत चाहिएला कि न चाहिएला, ब्लड ग्रुप के हो सबै चेक गर्यौं ।’
सबै आवश्यक पर्न सक्ने तयारी पूरा गरेपछि चिकित्सकहरुले २१ बैशाखमा शल्यक्रिया गर्ने योजना बनाए । विहान १० बजे सुरु भएको शल्यक्रिया साढे १२ बजे सकियो । चिकित्सकहरुले बच्चाको कम्मरमुनि रहेको रहेको १२ सय ग्रामको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमर सबै हटाउन चिकित्सकहरु सफल भए । बच्चालाई बेहोसबाट निकाल्दासम्म दिउँसोको १ बजेको थियो ।
‘सर्जरी गर्दा जोखिम के होला भन्ने सबैको प्रश्न थियो,’ डा. राउत भन्छन्, ‘कम्मर भन्दा मुनि टाँसिएकोले भित्र आन्द्राहरुसँग टाँसिएको छ कि ? पिसाबमा केही समस्या हुने हो कि भन्ने लागिरहेको थियो ।’
त्यसबाहेक हाटखुट्टा चलाउने नसा, मलद्वार कन्ट्रोल गर्ने, पिसाबलाई कन्ट्रोल गर्ने नसाहरु पनि त्यही हुने भएकाले चिकित्सकहरुले थप सावधानी अपनाएका थिए । ‘कहिलेकाही आन्द्राहरु पनि त्यहीबाट छिरिरहेको हुन्छ । ट्युमर तल मात्र नभएर कहिलेकाहीँ भित्र मान्छेको पेटभित्रसम्म पनि गएको हुन सक्छ,’ डा. राउत भन्छन् । त्यसबाहेक चिकित्सकहरु स्पाइनल कड हुँदै तलसम्म स्पाइनल कड जोडिएको हुन सक्नेमा पनि चिन्तित थिए ।
तर, एमआरआई रिपोर्टबाट पनि चिकित्सकहरु ट्युमरलाई सजिलै निकाल्ने सकिनेमा आत्मविश्वासी भएका थिए । सर्जरीका क्रममा पनि चिकित्सकहरुले सोचेको जस्तो कुनै समस्या देखिएन् । ‘दिशा, पिसाबमा केही समया छैन्,’ उनले भने, ‘रुने, खाने सबै नर्मल नै छ । अहिले नवजात शिशु अस्पतालको पेडियाट्रिक विभागको केयरअन्तर्गत सामान्य अवस्थामा छ ।’ चिकित्सकहरुले सम्भावित समस्याहरुलाई मध्यनजर गरेर औषधिहरु दिइरहेका छन् ।