काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ अर्ब ९९ करोड बढीको स्वास्थ्य उपकरण र सामाग्रीहरुमा राजस्व छुट दिएको पाइएको छ । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मन्त्रालयले स्वास्थ्य उपकरण तथा सामाग्रीका लागि १५ अर्ब ९९ करोड ५४ लाख बराबरको सामाग्रीमा पैठारीमा राजस्व छुटको सिफारिस गरेको हो ।
स्वास्थ्य उपकरण, कोभिडजन्य आइटम, अक्सिजन जेनेरेटर, भेन्टिलेटर, हेमोडायलाइसिस मेसिन, इकोकार्डियाोग्राफी मेसिन ल्याउँदा राजस्व छुटको सिफारिस मन्त्रालयले गर्ने गरेको छ ।
‘मन्त्रालयले यो वर्ष रु १५ अर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण, औजार, एम्बुलेन्स (३७६ थान), र शवबाहन (२१ थन) को पैठारीमा राजस्व छुटको सिफारिस गरेको छ,’ प्रतिवेदनमा छ ।
महालेखाले राजस्व छुट दिएर पैठारी भएकाले मेसिन/उपकरण तथा सवारी साधन लक्षित वर्ग/समूहको हितमा प्रयोग भए नभएको तथा राजस्व छुट पाउने नपाउने स्वास्थ्य संस्थाको सेवा शुल्क सम्बन्धमा मन्त्रालयले अनुगमन नगरेको जनाएको छ । साथै, उसले राजस्व छुट प्राप्त गर्ने स्वासथ्य संस्थाको अनुगम गरी स्वास्थ्य संस्थाले तिर्नुपर्ने कर दाखिला गरे नगरेको, सहुलियत पूर्ण मूल्य निर्धारण गर नगरेको विश्लेषण समेत नगरेको जनाएको छ ।
‘राजस्व छुट प्राप्त गर्ने स्वास्थ्य संस्थाको अनुगमन गर्ने र राजस्व छुटमा पैठारी भएका उपकरण तथा स्वास्थ्य सामाग्रीको उपयोग गरी सेवा प्रवाह गर्दा सेवाग्राहीले तिर्ने शुल्कमा समेत सहुलितय हुने व्यवस्था गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।