काठमाडौं–नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको उनका निजी चिकित्सक डा. निरज बमले बताएका छन् । राष्ट्रपति पौडेलसँगै एम्समा रहेका डा. बमले हेल्थआवाजसँग टेलिफोन वार्तामा सो कुरा बताएका हुन् ।
डा बमका अनुसार पौडेलको फोक्सोको संक्रमण (पानी जमेको) विषयलाई मुख्य आधार मानेर नै उपचार भइरहेको छ । साथै त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदाका बखत चलाइएको औषधिलाई नै निरन्तरता दिइएको छ ।
‘संक्रमणका कारण जमेको पानीको मात्रा कम हुँदै गएको छ,’ डा. बमले टेलिफोनमा भने, ‘रगत तथा एक्सरे परीक्षणहरु नियमित भइरहेको छ । तर, औषधि भने नेपालमा चलाइएका नै निरन्तरता दिइरहेको छ ।’
राष्ट्रपति पौडेललाई एम्सका छाती रोग विशेषज्ञ प्रा. डा. अनन्तमोहन, क्रिटिकल केयरका प्रा.डा. पुनित मिश्र, न्युरोलोजिष्ट प्रा.डा. पद्यामालगायतको टिमले हेरिरहेको छ ।
डा. बमकाअनुसार उपचारमा संलग्न चिकित्सकहरुको बुधबारको बैठकले राष्ट्रपतिको एम्स बसाइको टुंगो लगाउनेछ । ‘भोलि चिकित्सकहरुको बैठक बस्दैछ सायद त्यसले महामहिमको डिस्चार्जको केही निर्णय गर्छ होला,’ उनले हेल्थआवाजसँग भने, ‘स्वास्थ्य अवस्था सुधार भएका कारण नै आज क्याविनमा सारिएको हो ।’
क्यान्सर र टिवीको हल्लाले राष्ट्रपति दुःखी
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने निर्णयसँगै फोक्सोको क्यान्सर वा क्षयरोग (टिवी)को आशंका गरिएको समाचार केही सञ्चार माध्यममा आएका थिए । ती समाचारका कारण राष्ट्रपति र परिवार दुःखी भएको डा. बमले बताए ।
‘यहाँ पत्रिका त पाइदैन् । तर, अनलाइनहरुमा टिवी, क्यान्सर भएको भन्दै आएका समाचारले महामहिम र परिवार बेचैन हुनुहुन्छ,’ उनले भने, ‘चिकित्सकहरु त्यो विषयतिर प्रवेश नै गर्नुभएकोे छैन । त्यस्तो आधारहीन समाचार नलेखिदिए हुन्थ्यो ।’
पेट र छातीमा स्वास्थ्य समस्या देखिएपछि ६ बैशाखमा राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत थप उपचारका लागि नयाँदिल्ली लगिएको थियो । त्यसअघि गत चैतमा पनि राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यतिबेला त्रिवि शिक्षण अस्पतालमा केही दिन बसेर उपचार गरेपछि उनी निवास फर्केका थिए ।