२०८१ कात्तिक २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामी मृत्युमा कानुन विपरित क्षतिपूर्ति दिने निर्णय गरेपछि डा. पुकारचन्द्र विवादमा

बिरामी मृत्युमा कानुन विपरित क्षतिपूर्ति दिने निर्णय गरेपछि डा. पुकारचन्द्र विवादमा

काउन्सिलले गर्ला त कारवाही ?


काठमाडौं—उपचारका क्रममा बिरामी मृत्युको घटनामा छानविन बिना नै लाखौं रुपैयाँ राज्यकोषमा भार पर्ने गरी बिरामी पक्षसँग क्षतिपूर्ति सम्झौता गरेपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ पुनः विवादमा तानिएका छन् । गत २२ असारमा केन्द्रमा काभ्रेका कुमार लामाको कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएपछि विरोध उत्रिएका मृतकका आफन्तसँग बिना छानविन नै डा. श्रेष्ठ ‘गल्ती स्वकारोक्ती शैली’मा २० लाख रुपैयाँ क्षतिपूर्ति दिने सम्झौता गरेका थिए ।

सो कलेजो प्रत्यारोपणको नेतृत्व डा. पुकार आफैले गरेका थिए । आफैले नेतृत्व गरेको प्रत्यारोपण असफल भएपछि बिरामीका आफन्तले दबाब दिएको भन्दैं २० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरी सम्झौता गरेका पाइएको हो । बिरामीको मृत्युपछि कार्यकारी निर्देशक डा. पुकारले मध्यरातमा बिरामी पक्ष आर्थिक रुपमा कमजोर भएको कारण देखाउँदैं उपचारका लागि डिपोजिट गरिएको २० लाख रुपैयाँ तल्काल फिर्ता गरेका थिए भने थप २० लाख रुपैयाँ नेपाल सरकारमार्फत क्षतिपूर्ति दिलाउने गरी सम्झौता भएको थियो ।

नेपाल सरकारबाट दिलाउने भनिएको थप २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनका लागि डा. पुकारले अस्पताल विकास समितिलाई समेत प्रभावमा पारेर निर्णय गराएको देखिन्छ । अस्पताल विकास समितिले सो घटनाको अध्ययन नगरी सदस्यसचिवसमेत रहेका कार्यकारी निर्देशक डा. पुकारले ल्याएको प्रस्तावमा अर्थ मन्त्रालय पठाउने निर्णय गरेको थियो । पत्रमा विकास समितिसँग रकम नभएको भन्दैं नेपाल सरकारसँग माग गर्ने निर्णय भएको उल्लेख छ । तर, अस्पताल विकास समितिका एक सदस्यकाअनुसार बैठकमा बिरामीको मृत्युको विषयलाई लिएर क्षतिपूर्ति दिने कुरा जायज नभएको हुँदा विकास समितिको कोषबाट रकम उपलब्ध गराउन नसक्ने कुरा उठेको थियो । सो विषयमा अधिकांश सदस्य एकमत भएपछि डा. पुकारले अर्थ मन्त्रालयसँग रकम माग गर्न निर्णय गरिदिन अनुरोध गरेका थिए । त्यो अनुरोधलाई विकास समितिले निर्णयका रुपमा लालमोहर लगाइदिएको हो ।

‘अस्पतालमा मृत्यु भएका मानिसको क्षतिपूर्ति दिदैं जाने हो भने राज्यले थेग्ने सक्दैन् । बैंठकमा यही कुरा भएको थियो,’ समितिका ती सदस्यले भने, ‘वोर्ड आफ्नो कोषबाट एक रुपैयाँ पनि दिन नसक्ने विषय एकमत थियो । अन्त कतैबाट खोजेर दिन्छु भनेपछि हामीले बाटो खोलिएका मात्र हौं ।’ केन्द्रको विकास समितिमा स्वास्थ्य मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ ।

अन्य निकायबाट क्षतिपूर्तिका लागि रकम जुटाउने भनेपछि केन्द्र विकास समितिको २४ भदौंमा बसेको ४२ औं बैठकले पहिलो पटक सरकारसँग रकम माग गर्ने निर्णय गरेर स्वास्थ्य मन्त्रालयमार्फत अर्थमा पठाएको थियो । अर्थ मन्त्रालय दिन नसक्ने भन्दैं पत्र फिर्ता पठाइदिएपछि ६ चैतमा बसेको केन्द्र विकास समितिको ४५ औं बैठकले विकास समितिसँग पैसा नभएको भन्दैं पुनः अर्थ मन्त्रालयसँग नै रकम माग्ने निर्णय गरेको हो ।

कानुनतः अस्पताल र चिकित्सकीय लापरवाहीसँग जोडिएर क्षतिपूर्ति उपलब्ध गराउने दुई वटा तरिका छन् । पहिलो क्षतिपूर्ति ऐनअन्तर्गत छानविन भएर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने क्षतिपूर्ति समितिले निर्णय गरेर त्रुटि भएमा क्षतिपूर्ति मृतक पक्षलाई दिलाउँछ । र, दोस्रो अदालतबाट क्षतिपूर्ति भराउने फैसला भएको अवस्थामा मात्र अस्पतालमा र चिकीत्सकीय लापरवाहीका घटनामा क्षतिपूर्ति दिन सकिन्छ । तर, डा. पुकारले आफ्नै नेतृत्वमा भएको असफल प्रत्यारोपणमा बिरामी पक्षले दबाब दिएकै भरमा गुपचुप रुपमा घटना साम्य पार्न कानुन विपरित क्षतिपूर्ति सम्झौता गरेको पाइएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला अस्पताल वा चिकित्सक कसैले पनि बिना छानविन क्षतिपूर्ति दिनु गैरकानुनी भएको बताउँछन् । ‘बाहुबलका अगाडि बाध्यताले क्षतिपूर्ति दिन्छु भनेर ज्यान बचाउन कबुलेको अवस्था हो भने फरक कुरा हो । त्यो कानुनी हुँदैन् र जबरजस्ती गरिएको कुरा मान्नुपर्छ भन्ने हुँदैन्,’ डा. कोइराला भन्छन्, ‘तर, प्रक्रिया पूरा नगरी, जाँचबुझ नगरी मेरो गल्ती छ भनेर स्वीकार गरेर दिने क्षतिपूर्ति गैरकानुनी हो । भौतिक शक्तिका अगाडि राज्यले झुक्न दिन पाइएन् । मुख थुन्नका लागि दिइने कुरा पनि गलत हो ।’ उनी ‘आफैले मेरो गल्ती छ’ भनेर पैसा तिरेर उन्मुक्ति नपाइने बताउँछन् ।

के भएको थियो घटना ?

२२ असार २०७९ मा काभ्रेका कुमार लामाको कलेजो प्रत्यारोपणका क्रममा केन्द्रमा मृत्यु भएको थियो । उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरोमा अस्पतालमा ‘ब्रेन डेथ’ भएका बिरामीको कलेजो प्रत्यारोपण गर्न खोजिएको थियो ।

केन्द्रका चिकित्सकहरुले २२ असारको विहान ८ बजेबाट बिरामीको प्रत्यारोपण प्रक्रिया सुरु गरेका थिए । विहान ९ बजे केन्द्रमा पुगेर कलेजो प्रत्यारोपण विभाग प्रमुखसमेत रहेका कार्यकारी निर्देशक डा. पुकारचन्द्रले प्रत्यारोपणको नेतृत्व लिएका थिए । दिउँसो १२ बजेसम्म डा. पुकार र अस्पतालका चिकित्सककै टोलीले प्रत्यारोपण प्रक्रिया अगाडि बढाएका थिए ।

दिउँसो भारतबाट आएका दुई जना कलेजो प्रत्यारोपण सर्जन डा. सपना बर्मा र डा. सेल्भाकुमार पनि प्रत्यारोपणमा सहभागी भएका थिए । प्रत्यारोपणमा सहभागी एक चिकित्सकअनुसार दिउँसो १२ बजेपछि बिरामीमा अत्याधिक रक्तस्राव हुन थालेको थियो । त्यसपछि क्रमसः बिरामीको अवस्था जटिल भएर अपरान्ह बिरामीको मृत्यु भएको थियो ।

बिरामीको मृत्यु भएपछि राति बिरामीका आफन्तले कार्यकारी निर्देशक डा. श्रेष्ठको कार्यकक्ष घेराउ गरेका थिए । बिरामीका आफन्तले घेराउ गरेपछि मध्यरातमा डा. पुकार र केन्द्र प्रशासनिक कर्मचारीहरुले बिरामीले जम्मा गरेको २० लाख रुपैयाँ धरौटी तत्काल फिर्ता दिने र थप २० लाख क्षतिपूर्ति उपलब्ध गराउने सम्झौता गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ