२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १क्यान्सर पीडित बिरामीको सहयोगको लागि साङ्गीतिक कार्यक्रम

क्यान्सर पीडित बिरामीको सहयोगको लागि साङ्गीतिक कार्यक्रम


विराटनगर – क्यान्सर पीडित बिरामीहरूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गरिने भएको छ ।

ब्लु स्काई ईभेन्टको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजको मैदानमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

नयाँ वर्षको अवसर पारेर शुक्रबार साँझ साङ्गीतिक कार्यक्रम गर्ने बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आर्थिक अवस्था नाजुक भएर उपचार गर्न नसकेका क्यान्सर पीडित बिरामीहरूको सहयोगको लागि साङ्गीतिक कार्यक्रम आयोजना गरिएको निर्देशक आभाष श्रेष्ठले बताए ।

क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । एक सय करोडको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि १०० शय्याको विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याइएको हो ।
उक्त अस्पतालमा आएका आर्थिक अवस्था विपन्न क्यान्सर पीडित बिरामीहरूको उपचारमा सहयोग पु¥याउन साङ्गीतिक कार्यक्रमबाट आम्दानी भएको रकम कोषमा राखेर उपचार गरिने अस्पतालका सिइओ डा. निकीता कार्कीले बताए । टिकट दर ३ सय देखि ४० हजारसम्मको रहेको छ । साङ्गीतिक कार्यक्रममा विराटनगरको चर्चित स्मृति ब्याण्ड, सिरिस ब्याण्ड र काठमाण्डौंबाट आएका डिजे एलएक्सको प्रस्तुति रहनेछ ।

रेवन्त रूपमणी फाउन्डेसनबाट संचालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा सस्तो, भरपर्दो गुणस्तरीय रूपमा दिने गरेको अस्पतालले जनाएको छ ।

क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पु¥याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधि सुरु भएको हो । अहिलेसम्म रेडिएसन पद्धतीबाट १२ जना बिरामीको उपचार गरिएको अस्पतालले जनाएको छ ।

क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको बताइएको छ । ‘क्यान्सरका बिरामी चितवन र विदेश जाने गरेका थिए । स्थानीय स्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुने भएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने ।

क्यान्सर इन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र विशेषज्ञको टिमसहित सबै किसिमका क्यान्सरको उपचार सेवा दिँदै आइरहेको छ । इन्स्टिच्युटले क्यान्सर रोग सम्बन्धी सबै उपचार एउटै छानामुनि दिदैं आइरहेको छ । जसमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी सेवा छन् ।

यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श, मनोविदद्वारा परामर्शलगायतका सेवा रहेका छन् । क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ । अस्पतालले क्यान्सरको उपचारको लागि ३० करोड रुपैयाँमा लेटेष्ट उपकरण मात्रै ल्याएको छ । अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की,  मेडिकल अंकोलोजिष्ट प्राडा. सुलभ सापकोटा, डा. मोना प्रियादर्शीनी, क्यान्सर शल्यचिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा. धुव्रनारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहेता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष,  अंको रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानुप्रताप शाहलगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दै आइरहेको छ ।

क्यान्सर विभागमा एक दर्जन दक्ष चिकित्सक रहेका छन्, टिममा सुपर स्पेसियालिटी हासिल गरेका चिकित्सकहरू समेत छन् । क्यान्सरको उपचार चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी मात्र एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ । विराट मेडिकल कलेज शिक्षण अस्पताल एक हजार शय्याको अस्पताल हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ