काठमाडौं – अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले म्याचिङ प्रणालीलाई हावादारी बनाएको जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार अनेरास्ववियुले आयोगले २०७८ फागुन २८ गते सार्वजनिक गरेको सूचनामा मेरिटोक्रेसीको मर्म मिचिने गरी म्याचिङ प्रणालीलाई संशोधन गरेकोमा आपत्ति जनाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।
‘२०७८ फागुन २८ गते प्रकाशित सुचनामा आयोगले म्याचिङ प्रणालीलाई संशोधन गरी योग्यताक्रमको आधारमा भर्ना पाउनुपर्ने अधिकार विरुद्ध गरेको निर्णयप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ अनेरास्ववियुको ध्यानाकर्षण पत्रमा छ ।
अनेरास्ववियूले २०७९ फागुन ५ गतेको सर्वोच्च अदालतले गरेको उत्प्रेषण आदेशमार्फत स्पष्ट गरेको जनाउँदै परीक्षा सञ्चालन पश्चात हालसम्म पनि नतिजाको वैज्ञानिक व्यवस्थापन नगरी चरम लापरवाही, हावादारी म्याचिङ प्रणाली स्थापित गरी मेरिटोक्रेसीको अन्तर्राष्ट्रिय मापदण्डको धज्जी उडाएको जनाएको छ ।
चिकित्सा शिक्षामा विद्यमान सम्पूर्ण समस्यालाई समाधान गर्ने भनेर स्थापना गरिएको आयोगले नै चिकित्सा शिक्षाको मानांक समाप्त पार्दै गएको महसुस अभिभावकहरुलाई भएको दावी अनेरास्ववियुको छ ।