२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधिको दुरुपयोग बढ्दैं, बिरामीलाई बेच्ने औषधि लागूऔषध प्रयोगकर्तालाई

औषधिको दुरुपयोग बढ्दैं, बिरामीलाई बेच्ने औषधि लागूऔषध प्रयोगकर्तालाई


विराटनगर—फार्मेसी संचालकहरूको बदमासीका कारण बिरामीले सेवन गर्ने औषधिको कोशी प्रदेशमा चरम दुरूपयोग हुने गरेको पाइएको छ । कमाउ धन्दामा लागेका व्यक्तिका कारणले फार्मेसी संचालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्येसनीहरूलाई बेच्ने गरेको पाइएको हो ।

यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको भेटिएको छ । औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम दुरूपयोग गर्ने गरेको पाइएको हो ।

आइतबार मोरङको सुन्दरहैचा नगरपालिका–१२ विराटचोकमा रहेको एरीका मेडिकल हलका संचालक मनोज खत्री औषधि दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । औषधि व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय बेलवारीले गरेको अनुगमनको क्रममा खत्रीले बिरामीले सेवन गर्ने औषधि दुरूपयोग गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी उनलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका खत्रीले एपनाडेल, ट्रमाडोल, ओपिडोल नामक औषधि दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी संचालकलाई नियन्त्रणमा लिएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए । खत्रीले प्रिगाभालीन, ट्रमाडोल नामको औषधि लागूऔषध प्रयोगकर्तालाई विक्री–वितरण गर्ने गरेको फेला परेको विभागले जनाएको छ ।

क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रमाडोलले अरु औषधिसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने फार्मेसी निरीक्षक खड्काले बताए । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । प्रिगाभालीन नसा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । यस्तै, ट्रमाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधि दुःखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

यसअघि पनि विभागले धरान उपमहानगरपालिका–१८ घोपा क्याप अगाडिको बिम्ब फार्मेसीका संचालक नवीन राईले औषधिको दुरूपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो । धरान ११ सयपत्री चौकस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेसी संचालक राईले औषधिको दुरूपयोग गर्ने गरेको खुलेको थियो । त्यही भएर विभागको टोलीले उनलाई पक्राउ गरेको हो ।

यसअघि केही फार्मेसीहरुले ट्रमाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले ‘अपोट्याब, ईसपाजमो र फोक्सिबो’ नामको औषधि मिक्स गरेर लागूऔषधको रुपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागका फार्मेसी निरीक्षक खड्काले जानकारी दिए । ‘यसअघि ट्रमाडोल औषधि मिक्स गरि लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुःखाइ कम गर्ने ओपोट्याब, ईसपाजमो र फोक्सिबोन क्याप्सुल मिक्स गरेर लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधि ऐन, २०३५ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ