काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारी रहेको बताएका छन् । मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको नवौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै सचिव डा. पोखरेलले यस्तो बताएका हुन् ।
‘हामी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक संरचना बनाउने तयारीमा छौं,’ डा. पोखरेलले भने, ‘रिसर्च काउन्सिलले गरेका अनुसन्धानअनुसार राज्यको लागि नीति निर्माण गर्न अनुरोध छ ।’ उनले कोभिड—१९ को समयमा परिषद्ले गरेको अनुसन्धानहरु प्रभावकारी भएको बताए ।
‘कोभिडका बेला भएका रिसर्चले काम गरेको छ,’ उनले भने, ‘क्लाइमेट चेन्ज, नसर्ने रोग र मेन्टल हेल्थका रिसर्च गरेर नीति निर्माणको लागि सहयोग हुनुपर्छ ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सम्मेलनले स्वास्थ्य अनुसन्धानको फरक बाटो तय गर्न सहयोग गर्ने बताए । ‘अनुसन्धान बिना समाजवादको कल्पना हुन सक्दैन्,’ उनले भने, ‘स्वास्थ्य अनुसन्धानको नतिजाअनुसार नीति बनेका छन् ।’
प्रजनन् दर घट्दो, वृद्धवृद्धाको संख्या बढ्दो अवस्थामा रहेको भन्दैं उनले यी विषय पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।
‘प्रदेश मौलिक चिकित्सा तथा आयुर्वेदिक उपचार पद्दतिको अनुसन्धान आवश्यक छ । प्रदेश र स्थानीय तहका नीति नियमलाई त्यहि सुहाउँदो अनुसन्धान गरी सिफारिस गर्नुपर्छ । अनुसन्धानका लागि राज्यले लगानी बढाउनेछ,’ उनले भने ।