काठमाडौं-स्वास्थ्य बिमाका कुल बिमितमध्ये ७० प्रतिशतले यस वर्ष बिमा नवीकरण गराएका छन् । शुक्रबार आउँदै गरेको सातौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्य बिमा बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।
हाल नेपालमा कुल ६४ लाख ५४ हजार ७७२ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्राप्त विवरणअनुसार बिमा गराएकामध्ये ४५ प्रतिशतले बिमा सेवा लिएका छन । हाल स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा फैलिएको र ७ सय ४८ स्थानीय तहका मानिसहरूको बिमामा पहुँच भएको स्वास्थ्य बिमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।
अन्तरक्रियामा बसौलाले काठमाडौँ र ललितपुरमा स्वास्थ्य बिमाको कार्यक्रमलाई विस्तार गर्न कठिनाइ भएको र फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बिमितहरुलाई समस्या भएको, बोर्डको स्थायी संरचना स्वीकृत भई नसकेको र अति विपन्न परिवारलाई बिमाको दायराभित्र ल्याउन नसकिएको आदि कुराको समस्या रहेको जनाइएको छ ।
त्यस्तै, यी समस्याको हलका लागि काठमाडौँ र ललितपुर महानगरका अधिकारीहरूसँग छलफल भइरहेको, दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन र परीक्षण गर्न जनशक्ति थप गर्नुका साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको लागि सुविधाको थैली तयार गरी अन्तिम चरणमा रहेको जनाइएको छ ।