दोलखा – नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले दुई वर्षअघि शिलान्यास गरिएको अस्पतालहरू धमाधम निर्माण कार्य भइरहेको छन् । करिब दुई वर्षअघि दोलखामा शिलान्यास गरिएका छ वटा अस्पतालमध्ये पाँच वटा हाल निर्माणाधीन छन् ।
स्थानीय तहहरूले स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा दिन २०७७ साल मंसिरमा एकैसाथ छ वटा अस्पतालको शिलान्यास गरेका थिए । दुई वर्षअघि शिलान्यास गरेका अस्पतालहरू अहिले धमाधम निर्माण भईरहेका छन् । सङ्घीय सरकारले २०७७ साल मङ्सिरमा देशभर ३९६ वटा आधारभूत अस्पतालको एकैसाथ शिलान्यास गरेको थियो ।
शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल निर्माण कार्य यस वर्ष बजेट अभावको कारण रोकिएको छ । बाहिरी संरचना निर्माण भए तापनि भित्री संरचना पूरा गर्न बजेट अभावको कारण रोकिएको र आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्ने गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्की थापाले बताइन । त्यसै गरी वैतेश्वर गाउँपालिका वडा नम्बर ५, मैनापोखरीमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ ।
एक तला निर्माण भइसकेको सो अस्पताल बजेट अभावका कारण पूरा हुन नसकेको गाउँपालिकाले जनाएको छ । यस्तै भीमेश्वर नगरपालिकाले चरिकोट अस्पताल परिसरमा १५ शय्याको अस्पताल निर्माण गरिरहेको छ । सो अस्पतालको करिब ५० प्रतिशत काम भइसकेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बताए ।
तामाकोशी गाउँपालिकाको वडा नम्बर ४ मालुमाकुल १४ करोड ५७ लाख चार हजार ३४० रुपैयाँको लागतमा १० शय्याको अस्पताल निर्माण भइरहेको छ । अहिले अस्पतालको चौथो तलाको निर्माण कार्य भइरहेको तामाकोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार मिश्रले बताए ।
मिश्रको अनुसार लगभग ७० प्रतिशत काम सम्पन्न भइसकेकोले छिट्टै नै सञ्चालनमा ल्याउने तयारीमा रहेको छ । गौरीशंकर गाउँपालिकाको सुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको इबिथानमा पनि १५ शय्याको अस्पताल भर्खर निर्माण कार्य थालिएको छ ।
एउटा अस्पताल जग्गाको लालपुर्जा नभएका कारण निर्माण सुरु हुन सकेको छैन। मेलुङ गाउँपालिकाको भेड्पु स्वास्थ्य चौकीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने भनिएकोमानिर्माण कार्य सुरु हुन सकेको छैन। जग्गाको लालपुर्जा नभएका कारण सङ्घीय सरकारले अनुदान रोकेको छ। अनुदान रकम नआएपछि अस्पताल निर्माण कार्य अगाडि बढ्न नसकेको मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बताइन। गुठीको जग्गा भएका कारण लालपुर्जा नभएपछि अस्पताल निर्माणको काम सुरु हुन नसकेको आचार्यको भनाई छ।
आगामी दिनमा पालिकाकै बजेटबाट अस्पताल निर्माण गरिने पालिकाले जनाएको छ ।