कठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संरचनागत सुदृढीकरण र गुणस्तरीय जनशक्तिको व्यवस्थापन आवश्यक रहेको बताएका छन् । ७५ औं विश्व स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिदैं स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालले जनस्वास्थ्यका केही क्षेत्रमा नमुनाको रुपमा सफलता हासिल गरेतापनि उपचारको पहुँच र गुणस्तरीयताको विषयमा भने अझै धेरै गर्नुपर्ने उल्लेख गरेका छन् ।
संविधानले निदृष्ट गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउने प्रतिवद्धतामा सरकार अडिग रहेको र स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन प्राथमिक स्वास्थ्य सेवालाई विस्तार गरी सर्वव्यापी पहुँच स्थापना गर्न जोड दिने सरकारको लक्ष्य रहेको बताए ।
उनले नेपालले राष्ट्रियस्तरमा तय गरेका लक्ष्यहरु, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिवद्धताहरु पूरा गर्न आवश्यक नीति, रणनीति तथा कार्ययोजना बनाएर प्रभावकारी कार्यन्वयनमा जोड दिइएको उल्लख गर्दै स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नसर्ने रोगको नियन्त्रण तथा रोकथाममा सरकारले नीति लिइरहेको जानकारी दिए ।
‘महामारी तथा प्रकोपमा प्रभावकारी प्रतिकार्यको लागि स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न लागि परेका छौं,’ उनले भने, ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाममा पनि लागिरहेकै छौं ।’
विगत केही दशकयता नेपालले स्वास्थ्यको क्षेत्रमा केही अनुकरणीय प्रगति हासिल गरेको दावी गर्दै मातृ तथा बाल स्वास्व्थ्यमा सुधार, केही नसर्ने रोग नियन्त्रणमा सफल र औसत आयु बढेको उल्लेख गरे ।
जनस्वास्थ्यको प्रगति सामाजिक संरचनासँग जोडिएकोले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र सबैका लागि स्वास्थ्य नारा र संविधान प्रदत अधिकार कार्यान्वयन हुने उनको भनाइ छ ।
नेपालले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, प्रणाली संरचना उपकरण र दक्ष स्वास्थ्यकर्मी परिचालन र व्यवस्थापनमार्फत निरोगी नेपालको लक्ष्य लिएको र यो लक्ष्य पूरा गर्न हाम्रा संरचनाहरु क्रियाशील रहेको समेत उनले बताए । प्रधानमन्त्री दाहालले अझैपनि कतिपय उपलब्धी हासिल गरेतापनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धेरै बाँकी रहेको हुँदा स्वास्थ्य संस्थाको सुदृढीकरण, जनशक्तिको व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।