काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ चैत्र २०७९ मा मन्त्रालय माताहतका विभाग, केन्द्र र अस्पतालहरुलाई कर्मचारीको विवरण २ दिन भित्र बुझाउन पत्रचार ग¥यो । मन्त्रालयले विवरण २ दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको यो समचार तयार पार्दा ७ दिन कटिसकेको छ ।
तर, मन्त्रालय स्रोतकाअनुसार १४ वटाले मात्र विवरण बुझाएका छन् । अहिलेसम्म औषधी व्यवस्था विभाग शाखा कार्यलय विराटनगर, कान्ति बाल अस्पताल, कोशी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, डडेल्धुरा अस्पताल, नारायणी अस्पताल, पशुपति होमियो चिकित्सालय, भेरी अस्पताल, राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग केन्द्र, राष्ट्रिय औषधि प्रयोगशाला, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आयुर्वेद विभाग, औषधि व्यवस्था विभाग र वीर अस्पतालले मात्रै कर्मचारी विवरण बुझाएका छन् ।
मन्त्रालयले विवरण मागेर मातहतका निकायलाई पत्राचार गरेको यो पहिलोपटक भने होइन् । वि.सं. २०७५ सालदेखि पटक—पटक कर्मचारीको पूर्ण विवरण माग्दैं आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीका अनुसार हालसम्म मन्त्रालयका कुनै पनि निकायले यथार्थ विवरण मन्त्रालयलाई बुझाएका छैनन् ।
अझ रमाइलो कुरा त के भने पछिल्लो ७ महिनामा मन्त्रालयले ती निकायहरुलाई तीन पटक पत्राचार गरिसकेको छ । आर्थिक वर्ष सुरु हुनासाथ ५ भदौमा पहिलोपटक तीन विभागसहित मातहतका केन्द्रीय अस्पताल, केन्द्र र केन्द्रीय प्रयोगशालालगायत २९ निकायलाई कर्मचारीको विवरण ७ दिन भित्र मन्त्रालयको इमेलमा पठाउन पत्राचार गरेको थियो । सो पत्रलाई पनि मातहतका अधिकांस निकायले बेवास्ता गरिदिए । सो पत्रको कुनै पनि निकायबाट जवाफ नआएपछि मन्त्रालयले पुनः २२ पुसमा सोही व्यहोराको पत्र पठाएको थियो । पछिल्लो पटक २ चैत्रमा पनि पत्र पठाइएको छ ।
विवरण बुझाउने नमुनामा कार्यरत पद, श्रेणी, स्वीकृत दरवन्दी, पदपूर्तिको अवस्था, फाजिल कर्मचारी र सरुवा भई रमाना लिन बाँकी भएका कर्मचारीको विवरण माग गरिएको छ ।
मन्त्रालय मातहतमा २९ मध्ये १३ वटाले मात्रै मन्त्रालयमा विवरण बुझाएका छन् । त्यसबाहेक केही विभाग, अस्पताल, केन्द्रलगायतका १५ वटा यी निकायले तालुकदार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भने टेरपुच्छर लगाएका छैनन् ।
कर्मचारी व्यवस्थापनको हिसाबले स्वास्थ्य मन्त्रालयलाई अति भद्रगोल मन्त्रालयको रुपमा लिइन्छ । मन्त्रालयमा हालसम्म कुन समूह र तहका कति कर्मचारी छन्, कति विदामा छन्, कति रिक्त छन्, कति फाजिलमा छन् भन्ने विवरण नै छैन । ‘सामान्य प्रशासन मन्त्रालयले विवरण मागेको र कर्मचारी अडिट पनि प्रत्येक वर्ष गर्नुपर्दा विवरण माग गरिएको हो,’ कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराई भन्छन्, ‘पूर्ण विवरण नहुँदा कहाँ खाली छ ? कहाँ बढी कर्मचारी छन्, तिनको व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’
नयाँ संघीय संरचनाअनुसार स्वास्थ्यका कर्मचारीहरुको समायोजनमा धेरै जटिलता भएको थियो । सो जटिलताका कारण अझै पनि धेरै कर्मचारीहरु समायोजन भएको ठाउँमा नजाने, फाजिलमा रहने समस्या विद्यमान छ ।
यी हुन् मन्त्रालयलाई टेरपुच्छर नलगाउने निकाय
१. स्वास्थ्य सेवा विभाग
२. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
३. राष्ट्रिय ट्रमा सेन्टर
४. वीर अस्पताल नर्सिङ क्याम्पस
५. राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र
६. राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु
७. राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
८. भरतपुर अस्पताल
९. मानसिक अस्पताल
१०. आयुर्वेद चिकित्सालय नरदेवी
११. परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल
१२. कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र
१३. गजेन्द्रनारायण सिंह अस्पताल राजविराज
१४. औषधी व्यवस्था विभाग शाखा कार्यलय, वीरगन्ज
१५. औषधी व्यवस्था विभाग शाखा कार्यलय, नेपालगंज