पोखरा – पोखरा विश्वविद्यालयले शिक्षण अस्पतालले वि.सं. २०८० सालको पहिलो सातादेखि आकस्मिक सेवा सञ्चालन गर्ने भएको छ । गत भदौंबाट ओपिडी सेवा सञ्चालन गर्दै आएको शिक्षण अस्पतालले बैशाखको पहिलो सातादेखि आकस्मिक सेवा सुरु गर्न लागेको हो ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी बैशाख पहिलो सातादेखि आकस्मिक सेवा सञ्चालनको तयारी गरिएको बताए ।
पोविविले १ सय बेड क्षमताको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । जसका लागि पोविवि प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि ११ रोपनी जग्गामा भवन निर्माण भइसकेको छ ।
पोविवि शिक्षण अस्पतालको मुख्य भवनमा प्याथोलोजी ल्याब, रेडियोलोजी ल्याब, ओपिडी कक्ष, आकस्मिक कक्ष र जनरल वार्ड, माइनर ओटी कक्ष र फार्मेसी रहने छन् । पहिलो तलामा जनरल वार्ड, आइसियु कक्ष, माइनर ओटी, मेजर ओटी रहनेछन् । अस्पतालले प्रि अपरेटिभ कक्ष, पोस्ट अपरेटिभ कक्ष, सिङ्गल बेड क्याबिन फिजियोथेरापी कक्ष, मर्मत सम्भार कक्ष, लन्ड्री र क्यान्टिनसमेत रहने जना विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रियाहरू अन्तिम चरणमा रहेको बताए । उनकाअनुसार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन बुझाइसकेको छ ।
‘मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमति पत्र पाएपछि १ सय शय्याको अस्पतालका रूपमा सर्भिस दिन्छौँ,’ उनले भने । विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पताल भवन निर्माण सकिएर रंगरोगनको अन्तिम चरणको काम हुँदै गरेको छ ।